काठमाडौं, १० असोज । पछिल्लो एक वर्ष अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ४२ प्रतिशत विन्दुले कम हो । गत आवको साउनमा यस्तो मुद्रास्फीति ७ दशमलव ५२ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८ दशमलव ९० प्रतिशत र ६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको थियो ।
साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९ दशमलव ०७ प्रतिशत, दाल तथा गेडागुडीको १२ दशमलव ०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव १५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३ दशमलव ६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ७५ प्रतिशतले घटेको छ ।
चालू आवको साउनमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७ दशमलव ९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५ दशमलव ३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४ दशमलव ५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।