काठमाडौं, १६ असोज । यस वर्षको नौ महिनामा सवा आठ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बरसम्ममा विभिन्न देशका आठ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार यो वर्षको सेप्टेम्बर महिनामा चार वर्ष यताकै उच्च पर्यटकको आगमन भएको छ । सेप्टेम्बरमा मात्रै ९३ हजार ३०५ विदेशी पर्यटन नेपाल आएका छन्, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५ दशमलव ८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना, सन् २०२१ मा नौ हजार ९०७ जना, सन् २०२० मा ५८४ जना र सन् २०१९ मा ९२ हजार ६०४ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को कुन महिनामा कति पर्यटक भित्रिए ?
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
यसैगरी सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।
सोही अवधिमा चीनबाट ८ हजार ४२ जना, अमेरिकाबाट १० हजार ८४ जना, बंगलादेशबाट ४ हजार १०३ जना, जर्मनीबाट दुई हजार ७०४ र युकेबाट चार हजार ४९३ जना पर्यटक नेपाल आएका नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।