अस्मिता सापकोटा
काठमाडौं, २१ असोज । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकासकोे अहिलेसम्मकै उच्चतम उपलब्धि हो । यसले कम्प्युटर वा मेशिनलाई मानिस जस्तै सोच्न, बुझ्न, निर्णय लिन र कार्य गर्न सक्षम बनाउँछ । पहिल्यै अपलोड गरिएका डेटाको आधारमा निर्णय लिन सक्ने क्षमता राख्ने यस प्रविधिको प्रयोग स्वचालित प्रणाली, स्वास्थ्य सेवा, शिक्षा, उद्योग, बैंकिङ, अनलाइन सेवा लगायतमा गरिन्छ । यस्तै प्राविधिक विकासको अर्कोे रूप हो यन्त्र मानव । यन्त्र मानव मानिसको जस्तो काम गर्न सक्ने एक प्रकारको स्वचालित मेशिन हो । पछिल्लो समय एआईको प्रयोगबाट यन्त्र मानवमा मानिसले जस्तै सोच्न र बोल्न सक्ने क्षमताको समेत विकास भएको छ ।
एआई प्रविधिको उपयोगबाट यन्त्र मानवमा भएको चामत्कारिक परिवर्तनका कारण पछिल्लो समय केही मानिसमा भविष्यमा यसले मानिसलाई नै प्रतिस्थापन गर्छ कि भन्ने आशंका फैलिरहेको देखिन्छ । यसैका बीच ओपनएआईका सीईओ टम अल्टम्यानले एक ब्लगपोस्टमा यससम्बन्धी आफ्नो दृष्टिकोण राखेका छन् ।
एआईले गर्दा मानिसले रोजगारी गुमाउने होइन कि बरू यसले रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अल्टम्यान बताउँछन् । यसका साथै यसले विद्यमान कार्य अवसरलाई रूपान्तरण गरेर नयाँ अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । साथै केही काम परिवर्तन भए तापनि उत्पादन बढाउने कार्यमा मानिसको योगदान रहिनै रहने उनको भनाइ छ ।
रोजगारीमा एआईको प्रभाव
प्रविधिको विकासले समय क्रमसँगै रोजगारीका अवसरमा समेत परिवर्तन ल्याएको छ । पहिलेको समयमा रोजगारीका लागि शारीरिक बल चाहिन्थ्यो भने अहिले विवेक, ज्ञान र शीप प्रमुख आवश्यकता बनेका छन् । प्रविधिको विकाससँगै नयाँ अवसर सृजना हुँदै आएका छन् र काम पनि सहज हुँदै आएको छ । अहिलेको समयमा नयाँ अवसर प्राप्त गर्न मानिसले पनि आफ्नो क्षमता र सीप त्यसै अनुसार वृद्धि गर्दै आएका छन् । यसरी समाज प्रविधि अनुसार अनुकुल हुँदै आएको छ ।
एआई प्रविधिको विकाससँगै रोजगारीको प्रकृति पनि विकसित हुन्छ । डेटा विश्लेषणको आधारमा हुने नियमित कामहरू सबै एआईले गर्ने हुँदा मानिसले रचनात्मक तथा रणनीतिक कामहरुमा ध्यान केन्द्रित गर्न पर्याप्त समय मिल्ने अल्टम्यान बताउँछन् । साथै प्रविधिमा आएको यस्तो परिवर्तनले कामलाई पुनः परिभाषित गर्ने र रोजगारीका नवीन अवसर खोल्ने उनको विश्वास छ ।
रोजगारीका लागि नयाँ सीप
एआईको विकाससँगै नयाँ सीप तथा क्षमताको आवश्यकता हुन्छ । सामान्य नियमित काम एआईले नै गर्ने भएपछि मानिसमा भने यसलाई झनै प्रभावकारी बनाउन सिर्जनात्मक तथा आलोचनात्मक सीपको आवश्यकता हुन्छ । मानिसहरूमा जन्मजात सिर्जनात्मक क्षमता हुने भए तापनि यतिमात्रै पर्याप्त नहुने भएकाले आलोचनात्मक सोच, बुद्धिमत्ता, समस्या समाधान लगायतका सीप विकास गर्न आवश्यक भएको अल्टम्यान बताउँछन् । परिवर्तनशील प्रविधि अनुसार दक्ष जनशक्ति तयार गर्न शिक्षा तथा प्राविधिक प्रशिक्षण महत्वपूर्ण हुने उनको भनाइ छ । यसरी प्रविधिको विकास अनुसार जनशक्ति तयार पार्न संघसंस्था तथा उद्योगहरुले आफ्ना कर्मचारीहरूको सीप अभिवृद्धिमा लगानी गर्न आवश्यक हुन्छ ।
मानव र एआईबीच साझेदारी
अल्टम्यान एआईले मानिसको प्रतियोगीे नभएर सहयोगीको रूपमा काम गर्ने भविष्यको कल्पना गर्छन् । यसले मानवको क्षमता बढाउने र पहिले भन्दा धेरै उपलब्धि हासिल गर्न सघाउनेमा उनी विश्वस्त छन् ।
एआई प्रणालीले जटिल समस्या समाधान र निर्णय प्रक्रियामा सहयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकत्व बढाउँछ । यसबाट उद्योगहरु लाभान्वित हुनुका साथै वस्तु वा सेवाको गुणस्तर पनि वृद्धि हुन्छ ।
सकारात्मक भविष्यको तयारी
एआईले अवसर प्रदान गर्नुका साथै यसका चुनौती पनि धेरै छन् । यसले गर्ने हानिलाई कम गर्दै यसबाट अधिकतम फाइदा लिनु पर्ने अल्टम्यान बताउँछन् । यसका लागि नीतिनिर्माता, शिक्षक, उद्योगी लगायतले सर्वसाधारण माझ एआई प्रविधिको समान पहुँच सुनिश्चित गरेर आगामी परिवर्तनको लागि दक्ष जनशक्ति तयार गर्नुपर्ने उनको भनाइ छ । एआईबाट निम्तिने चुनौती सामना गर्न कठिन देखिए तापनि अघिल्लो पुस्ताले जस्तै आजको जनशक्तिले पनि प्राविधिक विकासलाई अनुकुलन गर्दै एआई संचालित अर्थतन्त्रमा विकासको उपाय खोज्नेमा उनी विश्वस्त छन् ।
निकट भविष्यमा एआईको विकासले नयाँ पेशाहरूको उदय हुनुका साथै अवस्थित पेशालाई रूपान्तरण गर्ने प्रष्ट छ । प्रविधिले ल्याएको यस परिवर्तनलाई अँगालेर सीप विकासमा लगानी गर्न सकेमा यस प्रविधिबाट भरपूर लाभ लिन सकिन्छ ।
(एजेन्सीको सहयोगमा)