काठमाडौं, ४ कार्तिक । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ ।
केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
मिश्रको शव आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ । उनको आज दिउँसो १ बजे पशुपतिनाथमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।