अस्मिता सापकोटा
काठमाडौं, ४ कार्तिक । विश्वमा समय समयमा नयाँ रोग देखापरिनै रहेका हुन्छन् । त्यससँगै त्यस्ता रोगका कीटाणु नष्ट गर्ने एन्टीबायोटिकको आविष्कार पनि भइरहेको छ । तर पछिल्लो समय रोगको न्यूनीकरणका लागि आविष्कार गरिएका एन्टिबायोटिकको अत्यधिक वा गलत प्रयोगले रोगका कीटाणु क्रमशः प्रतिरोधक हुँदै जाँदा सुपरबगको जोखिम बढिरहेको छ । यसले स्वास्थ्य सेवा प्रणालीमा ठूलो चुनौती थपेको छ । सुपरबगका कारण संक्रमण फैलिँदा विश्वका कयौँ मानिसले अकालमा ज्यान गुमाइरहेका छन् ।
के हो सुपरबग ?
एन्टिबायोटिकले मार्न नसक्ने गरी प्रतिरोधक क्षमता (रेसिस्टेन्स) विकास गरेका ब्याक्टेरिया वा सूक्ष्मजीव नै सुपरबग हुन् । यी ब्याक्टेरियाको उपचार सामान्य एन्टिबायोटिकले गर्न नसकिने हुन्छ, जसका कारण संक्रमण झन् गम्भीर बन्न सक्छ ।
सुपरबगको विकास
एन्टिबायोटिकको विकाससँगै सुपरबग देखापर्न थालेको हो । सन् १९२८ मा आविष्कार गरिएको पेनिसिलिन नामक एन्टिबायोटिकले दोस्रो विश्वयुद्धको समयमा धेरै मानिसहरूको जीवन बचायो । तर यसको प्रयोगले प्रतिरोधी ब्याक्टेरियाको विकासको सम्भावना पनि जन्मायो । १९८० को दशकसम्म आइपुग्दा सिआरइ, भिआरइ जस्ता विभिन्न किसिमका एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाहरू देखापर्दै गए । यसैको नतिजा अनुरूप यस्ता सुपरबगको जोखिम बढ्दै गएको छ ।
सुपरबगको जोखिम
एन्टिबायोटिकको अत्यधिक र गलत प्रयोगका कारण सुपरबग विश्वभरि फैलिरहेको छ । २१ औं शताब्दीमा यसले गर्ने हानिलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले यसको प्रतिरोध क्षमता नष्ट गर्न विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै वैज्ञानिक तथा चिकित्सकहरू यसको सामना गर्ने उपाय खोजी गरिरहेका छन् ।
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग र अस्पतालमा संक्रमण रोक्ने राम्रो व्यवस्थापन नभएका कारण विकासशील तथा अविकसित देशहरूमा यसको जोखिम अझ बढी छ । यसरी नै कमजोर प्रतिरक्षा प्रणाली भएका र दीर्घ रोगको उपचार गरिरहेका व्यक्तिहरू यो रोगको संक्रमणको उच्च जोखिममा छन् ।
पछिल्लो समय अमेरिका, युरोप लगायत विकसित देशहरूमा पनि यसको समस्या देखिएको छ । यसले प्रतिवर्ष लाखौँ मानिसको जीवनमा गम्भीर असर पारिरहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । साथै यसको कारण विश्वव्यापी रूपमा मृत्यु हुनेहरूको संख्या पनि बढ्दो छ । तत्काल समाधानको उपाय नअपनाए २०५० सम्ममा यसबाट हरेक वर्ष १ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई विश्व स्वास्थ्यको ‘सबैभन्दा ठूलो खतरा’मध्ये एक मानेको छ । साथै संगठनले अन्तर्राष्ट्रिय रूपमा एन्टिबायोटिक प्रतिरोधविरुद्ध नीति बनाएर लागू गर्न सबै सरोकारवाला निकायलाई आह्वान समेत गरेको छ ।
सुपरबग संक्रमणका कारण
सुपरबग संक्रमणको मुख्य कारण एन्टिबायोटिकको अत्यधिक तथा गलत प्रयोग हो । यसले गर्दा ब्याक्टेरिया क्रमशः प्रतिरोधक हुन्छन् र अन्ततः ती एन्टिबायोटिकले काम नगर्ने अवस्था आउँछ ।
१. एन्टिबायोटिकको अत्यधिक प्रयोग
आवश्यकताभन्दा बढी वा गलत रूपमा एन्टिबायोटिक प्रयोग गर्दा कमजोर ब्याक्टेरिया मर्छन्, तर बलिया ब्याक्टेरियाहरूले प्रतिरोधी क्षमता विकास गर्छन् । यी ब्याक्टेरिया नै सुपरबग हुन् ।
२. एन्टिबायोटिक सेवनको अपूर्ण मात्रा वा अवधि
कुनै व्यक्तिले डाक्टरले सिफारिस गरेको समयावधिभन्दा कम समयसम्म एन्टिबायोटिक प्रयोग गरेमा ब्याक्टेरिया पूर्ण रूपमा नष्ट हुँदैनन् । बाँचेका ब्याक्टेरियाहरू अझ बलियो हुन्छन् र फेरि फैलने क्रममा एन्टिबायोटिकको प्रभावबाट बच्न सक्छन् ।
३. एन्टिबायोटिकको गलत प्रयोग
एन्टिबायोटिक सामान्यतया ब्याक्टेरियल सङ्क्रमणमा मात्र प्रभावकारी हुन्छन् । तर धेरै मानिसले रुघाखोकी वा फ्लू जस्ता भाइरल संक्रमणका लागि पनि एन्टिबायोटिक प्रयोग गर्छन् । यसबाट पनि ब्याक्टेरियाको एन्टिबायोटिक प्रतिरोधक क्षमताको विकास हुन्छ ।
५. जनावरमा एन्टिबायोटिकको प्रयोग
पालिएका जनावरलाई एन्टिबायोटिक दिँदा ब्याक्टेरियाले प्रतिरोधक क्षमता विकास गर्छन् । त्यस्ता प्रतिरोधी ब्याक्टेरिया जनावरबाट मानिसमा फैलिन सक्छन् । जसले गर्दा सुपरबगको संक्रमण फैलिन सक्छ ।
६. प्रतिरोधक ब्याक्टेरियाको स्थानान्तरण
जब मानिसमा प्रतिरोधक ब्याक्टेरिया एक ठाउँमा विकास हुन्छ, तिनीहरू शरीरको अन्य भागमा वा अन्य व्यक्तिमा फैलन सक्छन् । यो संक्रमण मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुँदा झन् हानिकारक हुन्छ ।
सुपरबगबाट बच्ने उपाय
सुपरबगबाट बच्न एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विकासलाई रोक्नुपर्छ । यसका लागि तलका उपाय अपनाउनु पर्छ ।
१. एन्टिबायोटिकको सही प्रयोग
बिरामीले डाक्टरको सल्लाहअनुसार मात्र एन्टिबायोटिक जस्ता औषधीको सेवन गर्नुपर्छ । रुघाखोकी, फ्लूजस्ता भाइरल रोगमा सकेसम्म एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।
२. हात धुने बानी
राम्रोसँग र नियमित रूपमा साबुनपानीले हात धुनाले शरीरमा ब्याक्टेरिया तथा भाइरस फैलनबाट बच्न सकिन्छ । त्यसैले खाना खानु अघि, शौचालय पछि र सार्वजनिक स्थलबाट फर्किएपछि हात धुनु महत्वपूर्ण हुन्छ ।
३. भ्याक्सिन लगाउने
शरीरलाई ब्याक्टेरियल तथा भाइरल संक्रमणबाट सुरक्षित राख्न भ्याक्सिन लगाउनु पर्छ । भ्याक्सिनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसले ब्याक्टेरिया फैलिन र विकास हुनबाट रोक्छ ।
४. अस्पताल र स्वास्थ्य संस्थामा सावधानी
अस्पताल वा स्वास्थ्य संस्थामा जाँदा संक्रमणबाट बच्न स्वच्छता र सुरक्षा मापदण्डहरू पालना गर्नुपर्छ । अस्पतालको वातावरणमा ब्याक्टेरिया छिट्टै फैलिन सक्छन्, त्यसैले सुरक्षाका लागि सरसफाइ, हात धुने र व्यक्तिगत सुरक्षा सामग्री (जस्तै मास्क, पञ्जा) को प्रयोग गर्नुपर्छ ।
५. जनावरमा एन्टिबायोटिकको सीमित प्रयोग
कृषिजन्य जनावरमा एन्टिबायोटिकको अत्यधिक प्रयोगले ब्याक्टेरिया प्रतिरोधी बन्न सक्छ । यसले मानिसलाई पनि असर पार्न सक्छ, त्यसैले जनावरमा एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्छ ।
७. सचेतना
एन्टिबायोटिक प्रतिरोधबारे चेतना फैलाउने र समुदायमा यसको सही प्रयोगको महत्व बुझाउनाले पनि सुपरबगको समस्या कम गर्न मद्दत पुग्छ ।
सुपरबग एउटा गम्भीर स्वास्थ्य चुनौती हो । यसले मानिसहरूमा स्वास्थ्य जोखिम र आर्थिक संकट ल्याइरहेको छ । यसको रोकथाम गर्न एन्टिबायोटिकको सही प्रयोग आवश्यक छ । यदि तत्काल सावधानी अपनाइएन भने सुपरबगको समस्या अझ गम्भीर बन्न सक्छ ।
(एजेन्सीको सहयोगमा)