काठमाडौं, ४ कार्तिक । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा सिफारिस समितिमा बागमती प्रदेश सभाका सभामुख र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने व्यवस्था रहेको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश लोक सेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) बमोजिम नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका १ का श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गरिएको जनाइएको छ ।
श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११औं तह सहसचिव हुन् । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा समेत नियुक्त भएका थिए ।
उनलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेल सम्मिलित ३ सदस्यीय समितिले २१ असोजमा सिफारिस गरेको थियो ।