काठमाडौं, ४ कार्तिक । पछिल्लो तीन महिनामा नेपालको सार्वजनिक ऋण करिब ८९ अर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा सरकारको सार्वजनिक ऋण ८८ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो । यो सँगै नेपालको चाालू आवको असोजसम्मको सार्वजनिक ऋणको दायित्व २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
कार्यालयका अनुसार सरकारले असोजसम्मा सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १२ खर्ब ८६ अर्ब ६७ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ ।
कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत सार्वजनिक ऋण
चालू आवको असोजसम्मको नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा ४४ दशमलव २३ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २१.६७ प्रतिशत र बाह्य ऋणको हिस्सा २२.५६ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आर्थिक वर्ष २०८०÷८१ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ५ अर्ब छ ।
सार्वजनिक ऋण दायित्वको अवस्था (रु. करोडमा)
८३ अर्बभन्दा बढी ऋण भुक्तानी
कार्यालयका अनुसार चालू आवको असोजसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण ७१ अर्ब ४५ करोड भुक्तानी गरेको छ, जसमध्ये साँवा ५९ अर्ब ६० करोड र ब्याज ११ अर्ब ८५ करोड रहेको छ । यस्ते बाह्य ऋणतर्फ सावाँ ९ अर्ब ४३ करोड र ब्याज २ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सार्वजनिक ऋणको भुक्तानीको विवरण:
तीन महिनामै सवा १ खर्ब आन्तरिक ऋण प्राप्ति
पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब ३१ रुपैयाँ ऋण उठाएको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण मात्रै १ खर्ब १५ अर्ब रुपैयाँ लिएको छ । त्यसोत सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ खर्ब ४८ अर्ब ३६ करोड अर्थात् वार्षिक लक्ष्यको १७ दशमलव ४९ प्रतिशतल मात्रै राजस्व संकलन गरेको छ, जसकारणले सरकारले आन्तरिक ऋण बढेको देखिन्छ । यस्तै सरकारले असोजसम्मा बाह्य ऋण २१ अर्ब ३१ करोड रुपैयाँ उठाएको छ ।