काठमाडौं, ५ कार्तिक । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । गत हप्ताको मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले आज पनि रेकर्ड ब्रेक गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस अघि आइतबार १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन सोमबार नै तोडिएको छ ।
सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको महासंघले जनाएका छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ थियो ।
मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।