काठमाडौं, ५ कार्तिक । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी किरण राणा र प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा.सुन्दरप्रसाद ह्योजु छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिव समेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छिन् । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणालाई बढुवा सिफारिस समितिले सिनियर दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
अहिले बढुवाका लागि सिफारिस भएकी राणा भने १५ कात्तिकमा एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।
प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार १० कात्तिकसम्म राणा बढुवा हुने छैनिन् ।
एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे पनि उनी जम्मा ४ दिनमात्रै एआईजी हुने पाउनेछिन् । १५ कात्तिकबाट अनिवार्य अवकाश हुने भएकाले उनको १४ कात्तिकमै बिदाइ हुनेछ ।