काठमाडौं, ६ कार्तिक । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल.सी.मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।
सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा भारत–चीनबीच उक्त सम्झौता कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा भएको बताएका छन् । यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् ।
‘पछिल्ला केही हप्तादेखि भारतीय र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एकअर्कासँग निकट सम्पर्कमा रहेका छन्’, मिश्रीले पत्रकारहरूलाई भने, ‘यी छलफलहरूको परिणामस्वरूप भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्थाबारे सम्झौता भएको छ, जसले २०२० मा यी क्षेत्रहरूमा उत्पन्न भएका समस्याहरूको अन्ततः समाधान र पृथकीकरणतर्फ डो¥याउनेछ ।’
सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले निजी समाचार च्यानल एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको र यस सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक हुने बताएका छन् । उनले भनेका छन्, ‘एलसीमा सन् २०२० भन्दा पहिले जस्तो स्थिति थियो त्यो स्थिति बहाल हुने छ । यो एक महत्वपूर्ण घटनाक्रम हो । तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ ।’
चीनले भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै सम्पूर्ण दाबी गर्छ । दुई देशबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । त्यस्तै भारतीय सञ्चार माध्यमका अनुसार सन् २०२० को सीमा झडपमा कम्तीमा २० भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसपत्तचात् दुवै पक्षले दशौं हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजनपट्टिमा गस्ती नपठाउने सहमति गरेका थिए ।