काठमाडौं, ६ कार्तिक । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीले पाएकी छिन् । नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्।
चौधरी सहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका छन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन्।
चौधरी सम्मानित भएको जानकारी दिँदै दूतावासले लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।’
उर्मिला चौधरीको घर दाङको गढवा गाउँपालिका–७ मानपुरमा पर्छ । उनको बुवाको नाम फुलट चौधरी र खलसी चौधरी हो । उनका तीन दाजु, एक दिदी र एक भाइ छन् ।
पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्षसम्म साहुको घरमा कमलरी बसेकी उर्मिला २०६३ माघ १ मा मुक्त भएकी थियन् । उनी मुक्त भएसँगै कमलरी प्रथा उन्मूलन अभियानमा लागिन् । उनको सक्रियतासँगै दाङमा कमलरी उन्मूलन अभियानको अगुवा उनैलाई बनाइएको थियो । त्यसको दुई वर्षपछि उनकै नेतृत्वमा दाङलाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको थियो ।
चौधरीकै नेतृत्वमा मुक्त कमलरी विकास मञ्च गठन भयो । त्यसपछि एक जिल्ला अर्को जिल्ला हुँदै उनीहरूको अभियानले सार्थकता पाउँदै गयो । यससँगै २०७० असार १३ मा सरकारले कमलरी मुक्तिको घोषणा ग¥यो । त्यसपश्चात् हरेक वर्षको असार १३ गते कमलरी मुक्ति दिवस मनाइँदै आएको छ ।
कानूनमा स्नातक गरेकी उर्मिलाले अहिलेसम्म संयुक्त राष्ट्रसंघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्सलगायत आधा दर्शन बढी अन्तर्राष्ट्रिय अवार्डस् पाइसकेकी छन् । कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उर्मिलालाई नेडरल्यान्ड्सले ‘लउरियट फ्रीडम फ्रम फेयर अवार्ड २०१८’ बाट सम्मानित गरिसकेको छ ।