अस्मिता सापकोटा
काठमाडौं, ६ कार्तिक । नेसनल किड्नी फाउन्डेसनका अनुसार हरेक वर्ष पाँच लाखभन्दा बढी मानिसहरू पत्थरीको समस्याले आपतकालीन अवस्थामा अस्पताल जान्छन् । हरेक दशमध्ये एक व्यक्तिलाई मिर्गाैलामा पत्थरी हुने अध्ययनले देखाएको छ ।
नेसनल इन्स्टिट्युट अफ डायाबिटिज एण्ड डाइजेस्टिभ एण्ड किड्नी डिजिजका अनुसार अमेरिकामा लगभग ११ % पुरुष र ६ % महिला जीवन भरमा कम्तीमा एक पटक पत्थरीेबाट पिडित हुन्छन् । नेपालमा पनि यस रोगका बिरामी धेरै नै भेटिन्छन् ।
केही मानिसमा यो रोग पटक पटक दोहोरिरहेको देखिन्छ । एक पटक पत्थरीे भएका बिरामीमा यो रोग फेरी दोहोरिने लगभग ५०% सम्भावना हुने युरोलजिस्ट डा. जोन होलिंग्सवर्थ बताउँछन् ।
पत्थरी एकदमै पीडादायी हुन्छ । रोग सामान्य जस्तो देखिए तापनि कहिलेकाहीं यसबाट किड्नी इन्फेक्सन, युरिनरी ट्र्याक्ट इन्फेक्सन र सेप्सिस जस्ता जटिलताहरू समेत उत्पन्न हुन सक्छ । किड्नीमा जम्मा हुने खनिज र नुनको थुप्रो नै पत्थरीे हो । यो ढुङ्गा आकारमा हुन्छ, जसलाई प्रायः मिलिमिटरमा मापन गरिन्छ । यसलाई अंग्रेजीमा किड्नी स्टोन भनिन्छ । यस्तो पत्थरीे किड्नी वा युरेटरमा बन्छ । त्यहाँ बनेको पत्थरीे युरिनरी ट्र्याक्ट (मूत्र नली)बाट निस्किन खोज्दा पिडा हुन्छ, जुन सहन नसकिने हुन्छ । प्रायः मानिस त्यो पिडा खप्न नसक्दा अस्पताल पुग्छन् र चेक, जाँच पछि मिर्गौलाको पत्थरीे भएको पक्ता लाग्छ ।
मिर्गौलाको पत्थरीलाई हल्का रूपमा लिनु हुँदैन । सबै प्रकारका पत्थरी सजिलै बाहिर ननिस्किने हुनाले यसबाट मिर्गौलाको संक्रमण, सेप्सिस जस्ता जटिलताहरू पनि निम्तिन सक्छन् । त्यसैले यसको बेलैमा उपचार गर्नुपर्छ । खानपानमा विशेष ध्यान दिएमा यस रोगबाट बच्न सकिन्छ । प्रशस्त पानी र पौष्टिक आहारको सेवनबाट यस रोगलाई न्यूनीकरण गर्न सकिने जानकारहरू बताउँछन् । यहाँ पत्थरीको रोकथाममा सहयोग गर्ने केही खाना तथा पेय पदार्थको चर्चा गरिएको छ ।
१. प्रशस्त तरल पदार्थ पिउने
स्वस्थ मानिसले दिनको २ देखि ३ लिटर तरल पदार्थ पिउनु उपयुक्त हुन्छ । साथै पत्थरीका बिरामीका लागि यो अनिवार्य भएको डाक्टरहरू बताउँछन् । तरल पदार्थमा पनि शुद्ध पानी बढी उपयुक्त हुने उनीहरुको भनाइ छ । तरल पदार्थले किड्नीलाई सफा गर्न मद्दत गर्छ, जसले गर्दा किड्नीमा पत्थरी जम्मा हुन पाउँदैन । तरल पदार्थ पिउँदा एकै पटकमा धेरै पिउनु भन्दा दिनभरि सन्तुलित रूपमा पिउनु उपयुक्त मानिन्छ । साथै चिनी तथा नुनको मात्रा कम भएको वा हुँदै नभएको तरल पदार्थ पिउँदा अझ लाभ मिल्ने जानकारहरूको भनाइ छ ।
२. सिट्रस फलको मात्रा बढाउने
तरल पदार्थ पिउनुका साथै प्राकृतिक सिट्रस फलफुलको सेवनले किड्नीमा पत्थरी बन्नबाट रोक्न सकिन्छ । यसमा कागती, सुन्तला, अमला, भोगटे, निबुवा जस्ता फलहरू पर्छन् । साथै फलफूल खाँदा तथा रस पिउँदा यसमा हुने चिनीको मात्रामा भने ध्यान पु¥याउनु पर्छ । धेरै चिनीले किड्नी स्टोन बन्न मद्दत गर्न सक्ने र मधुमेह तथा मुटु सम्बन्धी रोगहरू पनि निम्त्याउन सक्ने भएकाले चिनीको मात्रा कम भएका यस्ता फलफुलको सेवन गर्नु उत्तम मानिन्छ ।
३. खानामा क्याल्सियमको मात्रा बढाउने
धेरैलाई लाग्न सक्छ पत्थरी आफैमा क्याल्सियम हुने भएकाले यसको सेवनले झनै पत्थरी बढ्न सक्छ । तर यथार्थ बेग्लै छ । क्याल्सियमले वास्तवमा किड्नी स्टोन बन्नबाट रोक्न मद्दत गर्छ । क्याल्सियम आन्द्रामा हुने अक्सालेट (किड्नी स्टोनमा हुने एउटा पदार्थ)सँग बाँधिएर पाचन प्रक्रियाबाट बाहिर जान्छ । यसले गर्दा किड्नी वा युरिनरी ट्र्याक्टमा क्याल्सियम र अक्सालेट जम्मा हुन पाउँदैन र पत्थरी बन्ने सम्भावना कम हुन्छ ।
४. मेडिटेरिनियन डाइट सेवन गर्ने
मेडिटेरिनियन खानामा धेरै फलफूल तथा तरकारीहरू समावेश हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायक मानिन्छ । साथै यसले मिर्गौलाको पत्थरी हुने सम्भावना कम गर्ने विज्ञहरू बताउँछन् । यो डाइट उच्च रक्तचाप, कोलेस्ट्रोल लगायत रोगका बिरामीलाई पनि उपयुक्त मानिन्छ ।
पत्थरी भएकाले के नखाने ?
पत्थरीका बिरामीले केही खानेकुरा कटौती गर्नु लाभदायक हुन्छ । सबैजसो चिकित्सकले पत्थरी भएका बिरामीलाई खानामा सोडियम र जनावरबाट प्राप्त हुने प्रोटिन कम गर्न सिफारिस गर्छन् । जनावरमा हुने प्रोटिनले युरिनमा एसिडको मात्रा बढाउने र शरीरमा सिट्रेट (मिर्गौलामा पत्थरी हुन नदिने एक प्रकारको यौगिक)को मात्रामा कमी ल्याउने भएकाले यसको सेवन कम गर्नु उपयुक्त हुने डाक्टरहरू बताउँछन् ।
(एजेन्सीको सहयोगमा)