काठमाडौं, ७ कार्तिक । भारतबाट आयात गरिएको १२ टन दाल नेपालगन्ज भन्सारबाट फिर्ता पठाइएको छ ।
नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा अखाद्य रंगको प्रयोग भएको भेटाएपछि दाल भारत फिर्ता गरिएको हो ।
कार्यालयले गरेको परीक्षणका क्रममा दालमा ‘कोल टार डाई’ रङ भेटिएपछि आयात गर्न नमिल्ने प्रतिवेदन तयार भएको थियो । उक्त प्रतिवेदनपछि मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगञ्ज भन्सार कार्यालयलाई भारतमै फिर्ता गर्न लगाएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार नेपालमा कुनै पनि किसिमका दालमा वाह्य रङ प्रयोग गर्न प्रतिबन्ध छ ।
उक्त दाल व्यापारिक प्रयोजनका लागि बाँके कोहलपुरको प्रभुकृपा अर्डर एन्ड सप्लायर्सले ४ कात्तिकमा नेपालगञ्ज भन्सार नाकामा भित्र्याएको थियो ।