काठमाडौं, ९ कार्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् ।
अमेरिकी उद्योग वाणिज्य सङ्घले शुक्रबार वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरेका राससमा उल्लेख छ ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे ।
उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । यसैगरी, भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि उनले अमेरिकी लगानीकर्ताहरूलाई दिए ।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे ।
छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।