काठमाडौं, ९ कार्तिक । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले ’हनिमुन डेज’मा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ,’ सभापति देउवाले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ ।
बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’
सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको बताए ।