काठमाडौं, ९ कार्तिक । सरकारले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले शुक्रबार ललितपुर र भक्तपुरसहितका १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।
गृहको निर्णय अनुसार भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।
ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ । ललितपुरमा रमेश ढकाल सीडीओ बनेका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।
दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।