अस्मिता सापकोटा
काठमाडौं, १३ कार्तिक । नेपाल, भारत, पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकमा पुरुष प्रधान समाजको बाहुल्य छ । यहाँका प्रायः विवाहित महिलाहरू आर्थिक गतिविधिका लागि पुरुषमा निर्भर हुन्छन् । सामाजिक मूल्य मान्यताकै कारण विवाहपछि कतिपय कामकाजी महिलाले रोजगारी छाड्छन् र परिवारको जिम्मेवारी सम्हाल्छन् । प्रायः घरायसी कामको जिम्मेवारी महिलालाई दिइने भएकाले पनि विवाहपछि यहाँका धेरै महिला रोजगारी छोड्न बाध्य हुन्छन् ।
विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले दक्षिण एसियाली मुलुकमा रोजगारीमा कायम लैंगिक असमानता औंल्याएको छ । उक्त प्रतिवेदनले यहाँका अधिकांश महिलाहरूको विवाह तथा सन्तान प्राप्तिपछि श्रम सहभागिता घट्ने देखाएको छ ।
दक्षिण एसियाको एक शक्तिशाली मुलुक भारतमा मात्रै महिलाको रोजगार दर विवाहपछि १२ प्रतिशतले घट्ने गरेको छ, जुन विवाहअघि भन्दा लगभग एकतिहाइ कम हो ।
नेपालको हकमा महिला रोजगार तथा शिक्षाप्रति अधिकांश व्यक्तिको सकारात्मक दृष्टिकोण भए तापनि व्यवहारमा यी धारणा प्रायः मेल खाँदैनन् । बच्चा हुर्काउन पुरुष र महिला दुवैको बराबर जिम्मेवारी हुन्छ भन्ने विश्वास रहे तापनि महिलाले नै बालबच्चा र घरायसी काम सम्हालिरहेको देखिन्छ । यसै कारण नेपालमा पनि धेरै महिलाहरू विवाहपछि रोजगारीमा सक्रिय भएका देखिँदैनन् ।
नेपाल श्रम शक्ति सर्वेक्षण २०१७/१८ का अनुसार ९० प्रतिशतभन्दा बढी नेपाली महिला आफ्नै घरायसी काममा संलग्न देखिन्छन्, जसमा खाना पकाउने, भाँडा माझ्ने, घर सफा गर्ने, वृद्ध तथा बालबालिकाको हेरचाह गर्ने लगायत कार्य पर्छन् । यसबाट महिलाहरूको उद्यमशीलतामा बाधा पुगेको देखिन्छ । यसो हुनुमा सामाजिक मान्यताको ठूलो भूमिका छ । यसका अतिरिक्त सन्तानको हेरचाह गर्ने जिम्मेवारी महिलाले लिनुपर्न भएकाले पनि बच्चा भएपछि रोजगारीबाट बाहिरिनु पर्ने अवस्था छ ।
विश्व बैंकको प्रतिवेदनले सन् २०२३ मा दक्षिण एसियाको महिला श्रम शक्ति सहभागिता दर मात्र ३२ प्रतिशत रहेको तथ्य उजागर गरेको छ, जुन पुरुषको ७७ प्रतिशत दरको तुलनामा निकै कम हो ।
लैंगिक अन्तर घटाउन शिक्षाको भूमिका
विश्व बैंकको प्रतिवेदनले शिक्षाको माध्यमबाट महिलालाई पनि रोजगारीमा समान पहुँच कायम गर्न मद्दत गर्न सकिनेमा जोड दिएको छ । माध्यमिक तहभन्दा माथिको शिक्षा हासिल गरेका वा समान शैक्षिक पृष्ठभूमिका पुरुषसँग विवाह गर्ने महिलाहरूले म्यारिज पेनाल्टी (विवाहपछि महिलाहरूले विभिन्न परिस्थिति बस रोजगारी कायम गर्न नपाउने अवस्था)को कमै सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।
महिला, रोजगार तथा विकासमा केन्द्रित साउथ एसिया डेभलपमेन्ट अपडेटले पछिल्ला तीन दशकमा यस क्षेत्रमा प्रगति भएको देखाएको छ । यद्यपि अझै पनि कार्यक्षमतायुक्त महिलाको दुई तिहाइ भाग पनि श्रम शक्तिमा संलग्न छैनन् । यसले यहाँको समग्र विकासलाई नकारात्मक असर पारिरहेको देखिन्छ ।
प्रतिवेदनले महिलाको श्रम शक्ति सहभागिता पुरुष सरह पुर्याउँदा दक्षिण एसियाको क्षेत्रीय जीडीपी र प्रतिव्यक्ति आयमा १३ देखि ५१ प्रतिशतसम्म वृद्धि हुन सक्ने उल्लेख गरेको छ ।
महिलाहरू पुरुष जस्तै उत्पादनशील काममा संलग्न भएमा दक्षिण एसियाको जीडीपी ५१ प्रतिशतसम्म बढ्न सक्ने विश्व बैंककी दक्षिण एसिया प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओहनसर्ग बताउँछिन् । साथै थप महिलाहरू श्रम बजारमा प्रवेश गरेमा यहाँको अर्थतन्त्र थप सबल हुन सक्ने उनको भनाइ छ ।
दक्षिण एसियाका सबैजसो देशमा रोजगारीमा लैंगिक असमानता हटाउन सामूहिक पहलको आवश्यकता छ । प्रतिवेदनले यस क्षेत्रको सम्पूर्ण आर्थिक क्षमतामा वृद्धि गर्न समग्र नीतिमा सुधार तथा सामाजिक परिवर्तनको आवश्यकतामा जोड दिएको छ ।
(एजेन्सीको सहयोगमा)