काठमाडौं, १३ कार्तिक । आजदेखि हिन्दुहरूको दोस्रो महान् चाड तिहार सुरु भएको छ ।
आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।
यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
धनतेरसमा सुनको विशेष महत्व हुन्छ । सुनलाई समृद्धिको प्रतीक मानिन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ । धनी हो वा गरीब, यस दिन प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार सुन किन्ने गर्छन् ।
यस दिन सुनको खरिद गर्नाले घरमा समृद्धी रहिरहन्छ । त्यसैले राष्ट्र बैंकले पनि धनतेरसलाई लक्षित गरी सुनका असर्फी बिक्री गर्दै आएको छ ।
सुन किन्न नसक्नेले चाँदी र चाँदी पनि किन्न नसक्नेले भाँडावर्तन भए पनि किन्ने गर्दछन् । यस दिन मानिसहरु तामा, पित्तलका भाँडा वा पूजाका थाली किनमेल गर्दछन् ।
धनतेरसको दिन किनिएको वस्तु टिकाउ, नाफादायक र शुभ हुने धार्मिक मान्यता छ ।
धनतेरसकै दिनदेखि यमदीपदान सुरु हुने गर्दछ । परिवारमा जतिजना सदस्यहरु छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । आजै साँझदेखि झिलीमिली बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सुरु गरिन्छ ।