काठमाडौं, १३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अबको पुस्तालाई विपत्ति सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर नेपाल भूगर्भ समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब बन्ने संरचना नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनु पर्नेमा जोड दिए ।
यस वर्ष अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस ‘उत्थानशील भविष्यका लागि भावी पुस्ताको सशक्तीकरण’ भन्ने नाराका साथ मनाइएको छ ।
मन्त्री दाहालले भूगर्भ अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनु पर्ने बताए ।
रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गरी युवालाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको उनको दाबी छ । उनले स्वदेशमा युवा रहे मात्र विपत्तिमा परिचालन गर्न सकिने बताए ।
यसैगरी कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपाल भौगर्भिक विपत्तिको उच्च जोखिममा रहेको बताए । उनले क्षति न्यूनीकरणमा ध्यान दिन आवश्यक रहेको बताए ।