काठमाडौं, १२ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बुधबार केन्द्रिय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत बाजारबाट १०० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
साँवा तथा ब्याज भुक्तानी मिति पुस ३ गते हुनेछ । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।