काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।
बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको बताउँदै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।
यस्तै उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ ।’
उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । सेबोनको कार्यालय आफ्नै भवनमा सार्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने श्रेष्ठले बताए । उनले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।
अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताए । उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने जानकारी दिए । पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिवद्धता जनाए ।