काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण हो ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने छिन् । सो भेटवार्ता चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुनेछ ।
छेन्दुमा चिनियाँ परराष्ट्र मन्त्री र राणाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डामाथि छलफल हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम तय भएको छ ।