काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।
परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो पठाएका हुन् ।
एकसाता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ । प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको पुष्ठि गरेको छ । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको जबाफ भने दिइसकेका छैनन् ।
गत ३१ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् ।