अस्मिता सापकोटा
काठमाडौं, २० कार्तिक । जलवायु परिवर्तन पछिल्लो समय विश्वकै ठूलो चुनौतिको रूपमा देखा परेको छ । यसका कारण विभिन्न वनस्पति, चराचुरूङ्गी तथा जनावरहरू लोप हुँदै गइरहेका छन् । विश्वको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको महादेश एसियामा यसको असर अन्यमा भन्दा बढी देखिन्छ । विश्व जनसंख्याको ६० प्रतिशत मानिस रहेको एसिया प्राकृतिक प्रकोपबाट सबै भन्दा बढी प्रभावित हुने क्षेत्र हो । सन् २०२३ मा मात्र ९० लाखभन्दा बढी मानिसहरू यसबाट प्रभावित भएका थिए । जसमध्ये २ हजार जनाले ज्यान गुमाउनु परेको थियो ।
जलवायु परिवर्तनले यस क्षेत्रमा ठूलो स्वास्थ्य चुनौती थपिदिएको छ । यसका कारण भविष्यमा डेंगु जस्ता सरुवा रोगको प्रकोप बढ्ने अनुमान छ । साथै सन् २०५० सम्ममा दक्षिण एशियामा मात्र करिब ४ करोड मानिसले जलवायुको असरका कारण आन्तरिक स्थानान्तरण गर्नुपर्ने अनुमान गरिएको छ ।
यसको चुनौतीसँग लड्न नीति निर्माताहरूले प्रविधितर्फ, विशेषगरी एआईको प्रयोगमा ध्यान केन्द्रित गरेका छन् । अनुसन्धानकर्ताहरू भौतिक विज्ञानलाई एआईसँग समायोजन गरेर भरपर्दो मौसम पूर्वानुमान उपकरण निर्माणमा लागिपरेका छन् । यस्तै गुगलले मौसम पूर्वानुमान गर्ने न्युरलजीसीएम मोडल विकास गरेको छ । यसले परम्परागत भौतिक उपकरणले भन्दा भरपर्दाे र छिटो मौसमको अवस्था पूर्वानुमान गर्न सक्छ । भौतिक उपकरण र एआईको समायोजनबाट यसले जलवायु परिवर्तनको अवस्था र गति समेत थाहा पाउन सक्ने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनबाट प्रभावित क्षेत्र मध्ये कृषि एक हो । मौसमका कारण विश्वमै अन्न उत्पादन घट्दै गइरहेको छ । यसले खाद्यान्न सुरक्षामा चुनौती थपिदिएको छ । यसलाई ध्यानमा राखेर एइजीआईएस परियोजनाले एआई प्रयोग गरी बालीको डिएनए अध्ययनबाट वनस्पतिले जलवायु परिवर्तनलाई कसरी सामना गरिरहेका छन् भन्ने बुझ्न खोजिरहेको छ ।
एआई जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्नेबारे जनचेतना बढ्दै गर्दा यसमा आधारित समाधानका उपाय प्रभावित समुदायको आवश्यकता अनुसार संचालन गर्न आवश्यक छ । परम्परागत ज्ञानले शताब्दीयौँदेखि जलवायु परिवर्तनको सामना गर्न सिकाएको छ । विशेषज्ञको विचारलाई मात्र प्राथमिकता दिएर स्थानीय ज्ञानलाई बेवास्ता गर्दा स्थानीय समुदायको सहभागिता कम हुन सक्छ ।
उपयुक्त परामर्शविना सुरू गरिएका परियोजनाले आदिवासी समुदायलाई विस्थापित गर्ने, उनीहरूको जीवीकामा असर पु¥याउने र स्थानीय स्तरमा विरोध निम्त्याउने जोखिम हुन्छ । क्याम्बोडियाको आरइडिडि प्लस परियोजना, इन्डोनेसियामा भएको निकेल खानी र फिलिपिन्सको विद्युतीय यातायात नीति यसका केही उदाहरण हुन् ।
हरितगृह ग्यास उत्सर्जनमा सीमान्तकृत समुदायको योगदान कम भए तापनि यसको उत्सर्जनमा शून्यताको लक्ष्य पाउन गरिएका निर्णय तथा कार्यले उनीहरूलाई नै बढी असर पु¥याउने गरेको देखिन्छ । त्यसैले जलवायु न्यूनीकरण सम्बन्धी परियोजना लागू गर्दा स्थानीयवासीको सहभागितालाई महत्व दिएर न्यायपूर्ण परिणाम सुनिश्चित गर्नु आवश्यक छ ।
धैर्यपूर्वक गरिएको परामर्श प्रक्रियाले कृषिमा नयाँ एआई प्रविधिको विश्वसनीयता र विश्वास बढाउने हालैको एक अध्ययनले देखाएको छ । उचित परामर्शले न्यायपूर्ण परिणाम मात्र सुनिश्चित गर्दैन । यसले समुदाय स्तरबाट संचालन गर्न सकिने परियोजनाका लागि बाटो समेत खोलिदिन्छ ।
जलवायु कार्यमा स्याटेलाइट डेटा तथा एआई जस्ता प्रविधि प्रयोग गर्दा परम्परागत प्रणाली र समुदायको स्वतन्त्रतालाई सम्मान गर्नु महत्वपूर्ण छ । परामर्श प्रक्रियामा सिएआरइ (केयर) सिद्धान्त (सामूहिक लाभ, नियन्त्रणको अधिकार, जिम्मेवारी र नैतिकता) अपनाउनु र आदिवासी समुदायको स्वतन्त्र र पूर्व जानकारी सहितको सहमति लिनुपर्छ । यसले अतिरिक्त स्रोत र समयको माग गरे तापनि समुदाय र परियोजना बीच समायोजन गर्न यी प्रक्रियाहरू आवश्यक छन् । स्थानीयमा रहेको असमानता बढाउन नदिन वा नयाँ असमानता नथप्न प्रविधि विकासकर्ता, नीति निर्माणकर्ता, अनुसन्धानकर्ता लगायतले समुदायसँग समन्वय गर्नुपर्छ ।
समन्वयमा परोपकारी संस्थाको भूमिका
जलवायु सम्बन्धी परियोजना कार्यान्वयन गर्दा स्थानीय समुदायसँग समन्वय गर्न दातृ संस्थाहरू सहयोगी हुन सक्छन् । यस्ता संस्थाले विभिन्न क्षेत्रका सरोकारवालाबीच सहकार्य गरेर निजीक्षेत्रको सहयोगसहित नयाँ जलवायु मोडलको प्रवद्र्धन गर्न सक्छन् ।
स्थानीय तथा आदिवासी समुदायको क्षमता विकासका लागि नागरिक समाज संस्थालाई आवश्यक परामर्श, प्राविधिक सहयोग र पूँजी उपलब्ध गराउनु महत्वपूर्ण छ । यसले समुदायको माग र आवश्यकतालाई ठूला मञ्चमा प्रस्तुत गर्न मद्दत गर्छ । साथै स्रोतको उपलब्धताले स्थानीय स्तरमा समुदायबाट चालिने जलवायु पहललाई प्रोत्साहित गर्छ । यसरी नै समस्या समाधानमा आधारित डेटा संकलन र मूल्यांकनमा पनि सहयोग पुर्याउँछ ।
स्थानीयको सहभागिताबाट विकास गरिएका एआई आधारित जलवायु आयोजना तथा नीतिका फाइदा धेरै छन् । यसले स्थानीयमा विश्वास कायम गरी विभिन्न सरोकारवालाको समर्थन जुटाउन मद्दत गर्छ, जसबाट प्रविधि मात्र नभएर सामाजिक रूपमा न्याय संगत र जलवायु परिवर्तनको जटिल समस्यासँग जुझ्न प्रभावकारी समाधानको विकास गर्न सकिन्छ ।
(एजेन्सीको सहयोगमा)