काठमाडौं, २१ कार्तिक । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ ।
विगतमा तराई मधेशका जिल्लामा मात्र मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकासहित देशभर मनाउने गरिएको छ ।
यसैक्रममा यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन् ।
उनका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ ।
यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको महानगरले जनाएको छ । यसमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले जानकारी गराएका छन् ।
छठ पर्वको दोस्रो दिन आज (बुधबार) ‘खरना’ हो । पर्वको पहिलो दिन मंगलबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । आज दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् ।
बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन् । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको मुख्य दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।