काठमाडौं, २१ कार्तिक । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलोपटक आधिकारिक रूपमा दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो । यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।
सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।
मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउ पु¥याउन समेत टिकटक तयार भएपछि दर्ता भएको हो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबीच वार्ता भएर गत १९ भदौदेखि प्रतिबन्ध हटेको थियो ।
योसँगै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पत्राचार गरेको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर)लाई पनि यस्तो पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०का व्यवस्था र टिकटकले नेपालमा दर्ता हुँदा पालना गरेका शर्तलाई जानकारी दिंदै अनुरोधपत्र लेखिएको उनले बताए ।
‘हामीले उनलाई निर्देशन दिन मिल्दैन, तर अनुरोध गर्न मिल्छ, कानुनी व्यवस्थाबारे जानकारी दिन सक्छौं,’ उनले भने, ‘हामीले नेपालमा टिकटक कसरी दर्ता भयो भन्नेबारे जानकारी दिएरै पत्राचार गरेका छौं ।’ अब टेलिग्रामसहित नेपालमा दर्ता नभई चलिरहेका अन्य सामाजिक सञ्जाललाई पनि पत्राचार गर्ने तयारी भइरहेको उनले बताए ।
निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । सरकारले सूचीकरण गरेको निस्सा दिएपछि त्यस्ता प्लेटफर्मले नेपालमा आधिकारिकता पाउने व्यवस्था छ । सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख छ ।