अस्मिता सापकोटा
काठमाडौं, २१ कार्तिक । तपाईं जागिर गुम्छ कि वा आफ्नो करियरमा कहिल्यै अगाडि बढ्दिनँ कि भन्ने सोचिरहनु हुन्छ ? यस्तो हो भने तपाईं आफ्नो करियरलाई लिएर धेरै दबाब र चिन्ताको अनुभव गरिरहनुभएको हुनसक्छ ।
करियरबारे धेरै चिन्ता लिँदा करियर एन्जाइटी हुन सक्छ । लगातार तनाव हुनु, कम काम गरेको समयमा पनि धेरै थकान महसुस गर्नु यसको लक्षण हो । कलेज सकिएर भर्खरै काम शुरू गरेकादेखि धेरै वर्षको अनुभव बटुलिसकेकालाई समेत यस्तो हुन सक्छ । यस्तो हुनु सामान्य नै मानिन्छ । तर यसो भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन । आफूलाई करियर एन्जाइटी छ भनेर थाहा पाइसकेपछि समाधानको उपाय अपनाउनु पर्छ । आज हामी यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छांै ।
१. समस्याको कारण बुझ्ने
समस्याको पहिचानपछिको महत्वपूर्ण कार्य हो कारण पत्ता लगाउनु । केही मानिस असफलतासँग डराउँछन् भने केहीलाई नयाँ काम गर्न डर लाग्ने हुन्छ । साथै केहीमा थोरै काम गर्दा पनि धेरै थकान महसुस हुने, कामकै बारेमा मात्र अनावश्यक सोचिरहने जस्ता समस्या हुन्छन् । यस्तोमा आफूलाई के भइरहेको छ नबुझेसम्म त्यसलाई समाधान गर्ने योजना बनाउन गाह्रो हुन्छ । आफूमा समस्या छ भन्ने स्वीकारेर त्यसलाई समाधान गर्ने उपाय खोज्नु पर्छ ।
२. छिट्टै पूरा हुने लक्ष्य लिने
भविष्यबारे अन्योल तथा चिन्ता छ भने छोटो समयमा पूरा गर्न सकिने लक्ष्य तय गर्नुपर्छ । एउटा डायरीमा लेखेर एक हप्तामा वा महिनामा हासिल गर्न सकिने लक्ष्य तय गर्न सकिन्छ । उदाहरणको लागि म्यानेजरसित बैठक राख्ने, कार्य योजना बनाउने, नयाँ मानिसहरूसँग भेटघाट गर्ने लगायत छोटो समयमै पूरा गर्न सकिने तर एकदमै महत्वपूर्ण कामको लक्ष्य तय गर्न सकिन्छ । यस्ता स–साना कार्यले व्यक्तिगत तथा व्यावसायिक प्रगति गर्न मद्दत गर्छ । साथै यस्ता कार्यबाट राम्रो प्रतिफल मिल्दा दीर्घकालीन लक्ष्य तय गर्न र त्यसतर्फ अघि बढ्न आत्मविश्वास मिल्छ । साना उपलब्धिमा ध्यान दिँदा आत्मविश्वास बढ्नुका साथै उत्पादकत्व सुधार्न समेत सहयोग पुग्छ ।
३. चिन्ता कम गर्ने तरिका खोज्ने
कामको चाप भएको बेला तनाव तथा चिन्ताले सताउन सक्छ । यस्तो बेलामा प्रशस्त चिसो पानी पिउने, एकै छिन बाहिरको वातावरणमा आँखा डुलाउने, आराम गर्ने जस्ता क्रियाकलाप गर्दा केही मात्रामा तनाव कम हुन सक्छ । चियाकफी पिउने, गहिरो श्वास फेर्ने अभ्यास गर्ने लगायत कार्यले पनि मस्तिष्कलाई आराम दिन्छ । यीमध्ये आफूलाई उपयुक्त हुने उपाय अपनाउदा कामबाट हुने थकान कम गर्न सकिनुका साथै कार्यप्रदर्शन सुधार्न पनि सकिन्छ ।
४. गल्ती हुन्छ कि भनेर नडराउने
गल्ती हुनु सिकाइ प्रक्रियाकै एउटा पाटो हो । संसारमा जे जति पनि सफल मानिस छन्, सबैले गल्तीबाटै सिकेर अघि बढेका उदाहरण छन् । गल्ती हुन्छ कि भनेर नयाँ काम गर्न डरायो भने कहिल्यै पनि त्यो काम सिक्न र अगाडि बढ्न सकिँदैन । कुनै पनि नयाँ काम थाल्न डराउनाले क्षमता बढ्न पाउँदैन । हरेक प्रयासले आफूमा भएको क्षमता पत्ता लगाउन र थप सफलताको बाटोमा अगाडि बढ्न मद्दत गर्छ ।
५. आफ्नो नियन्त्रण नभएको कुरामा चिन्ता नगर्ने
कुनै पनि काममा सबै निर्णय आफ्नो हातमा हुँदैन । उदाहरणका लागि कुनै पनि परियोजना प्रतिवेदन बुझाइसकेपछि यसको परिणाम के हुन्छ भन्ने बुझाउनेको हातमा हुँदैन । यस्तोमा आउने परिणामबारे चिन्ता लिनु आफैलाई अनावश्यक दुःख दिनु मात्र हो । यसरी नै कुनै अन्तर्वार्तापश्चात् त्यसबारे सोच्नु, चिन्ता गर्नु अनावश्यक हो । यस्तो अवस्थामा धेरै सोच्नाले चिन्ता र तनाव मात्र बढाउँछ ।
६. परामर्शदाताको सहयोग लिने
माथिका उपाय अपनाएपछि पनि चिन्ता तथा तनाव बढिरहेको महसुस हुन्छ भने व्यावसायिक परामर्शदातासँग सम्पर्क गर्नु उपयुक्त हुन्छ । उनीहरूले चिन्ता कम गर्ने उपायका साथै करियर यात्रामा सघाउने व्यक्तिगत सल्लाह पनि दिन्छन् ।
करियर वा व्यावसायिक व्यक्तित्व जीवनको एउटा पक्ष मात्र हो । यो नै सम्पूर्ण जीवन होइन । त्यसैले कुनै पनि काम गर्दा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ ।
(एजेन्सीको सहयोगमा