अस्मिता सापकोटा
काठमाडौं, २५ कार्तिक । अहिलेको प्रतिस्पर्धात्मक डिजिटल युगमा व्यक्तिगत तथा व्यावसायिक सम्पर्क सञ्जाल विस्तार गर्नु अत्यन्त आवश्यक छ । यसले नयाँ अवसर र सम्भावनाको ढोका खोल्छ । राम्रो नेटवर्कले रोजगारीका अवसर तथा व्यावसायिक सहयोग पाउन सजिलो बनाइदिन्छ । साथै यसमा ज्ञान, शीप र जानकारीको प्रवाह हुने भएकाले नयाँ प्रविधि र ट्रेन्डसँग अपडेट रहन पनि सजिलो हुन्छ । यसरी नै व्यक्तिगत ब्रान्ड निर्माण गर्न र पहिचान बलियो बनाउन पनि सहयोग पु¥याउँछ । साथै अनुभवी व्यक्तिसँगको सम्पर्कले सिक्ने अवसर मात्र दिँदैन, आवश्यक पर्दा मार्गदर्शन पनि गर्छ ।
१. समान उद्देश्य भएका व्यक्तिहरूसँग सम्पर्क राख्ने
समान उद्देश्य भएका व्यक्तिहरूसँग सम्पर्क राख्दा र उनीहरुको सरसल्लाह मनन गर्दा काममा सफलता पाउने सम्भावना बढ्छ । साथै समान उद्देश्य भएका व्यक्तिहरूसँग व्यावसायिक सम्बन्ध बनाउँदा आवश्यक ज्ञान र अवसरको जानकारी पनि मिल्छ ।
२. सामाजिक सञ्जाल प्रयोग गर्ने
अहिलेको समयमा सामाजिक सञ्जाल नेटवर्क विस्तारको प्रमूख थलो बनेको छ । फेसबुक, लिंक्डइन, ट्विटर, टिकटक जस्ता सामाजिक सञ्जालमा सक्रिय भएर नेटवर्क विस्तार गर्न सकिन्छ । साथै यस्ता प्लेटफर्ममा प्रोफाइल राम्रो बनाउन सकेमा कामको अवसर खोज्न पनि सजिलो हुन्छ ।
३. सेमिनारमा भाग लिने
कन्फरेन्स, सेमिनार तथा वर्कशपमा सहभागी हुँदा आफ्नो क्षेत्रका सफल व्यक्तिहरूसँग भेट्ने मौका मिल्छ । यस्ता कार्यक्रममा उपस्थित हुँदा सहभागी भएर प्रश्न सोध्ने तथा आफ्ना विचार बाँड्नाले अन्य सहभागीहरूसँग सम्बन्ध बनाउन सजिलो हुन्छ । साथै कार्यक्रमले आफ्नो क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न र विशेषज्ञहरूसँग प्रत्यक्ष भेट गर्ने मौका दिन्छ ।
४. व्यावसायिक संघमा आबद्ध हुने
पेशागत संगठनमा आबद्ध हुँदा विभिन्न कार्यक्रममा भाग लिन र उद्योगसँग सम्बन्धित जानकारी राख्न पाइन्छ । यसबाट नेटवर्क विस्तार हुनुका साथै कामको नयाँ अवसर समेत मिल्छ ।
५. नेटवर्किङ इभेन्टमा सहभागी हुने
नेटवर्किङ इभेन्ट विशेषतः नेटवर्क विस्तारकै लागि सञ्चालन गरिन्छ । यस्ता कार्यक्रममा भाग लिँदा व्यावसायिक सम्बन्ध विस्तार गर्न सजिलो हुन्छ । कार्यक्रममा अग्रजहरूको सफलताका कथा सुन्ने र आफ्नो विचार राख्ने अवसर पाइन्छ, जसबाट नयाँ अवसरको बाटो खुल्न सक्छ ।
६. अनलाइन फोरमहरूमा सहभागी हुने
क्वोरा, रेडिट, फेसबुक गु्रप जस्ता अनलाइन फोरममा सक्रिय भएर आफूमा भएको शीप तथा ज्ञान बाँड्दा पनि नेटवर्क बढ्छ । यस्ता फोरममा सक्रिय हुँदा समान उदेश्य भएका नयाँ व्यक्तिहरू भेटिन्छ ।
७. नयाँ शीप सिक्ने र अरूलाई पनि सिकाउने
आफूले सिकेका ज्ञान तथा शीप अरूलाई सिकाउँदा नेटवर्क बन्न मद्दत पुग्छ । यसले नयाँ सीप सिक्न चाहने व्यक्तिहरूसँग व्यवसायिक सम्बन्ध कायम गर्न सघाउँछ ।
(एजेन्सीको सहयोगमा)