काठमडौँ, २६ कार्तिक । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको हो । कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने गरी क्यानमा विन्टर सेड्युल पेस गरेको थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा उडान गर्नेछ ।
विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।
यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।