अस्मिता सापकोटा
काठमाडौं, २९ कार्तिक । भूगोल विषयमा डिग्री हासिल गर्नु भनेको जमिन तथा खोलानालाहरूको भौतिक विशेषताबारे बुझ्नु मात्रै होइन । भूगोलको डिग्रीले प्राकृतिक र सामाजिक विज्ञान दुईओटै क्षेत्रलाई समेट्छ । प्राकृतिक विज्ञानले पृथ्वी र यसका अवयवहरूको अध्ययन गर्छ भने सामाजिक विज्ञान मानिसहरूको सामाजिक विकासमा केन्द्रित हुन्छ । यी दुवै पक्षहरूको गहिरो विश्लेषणले सहरी योजना, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, दिगो विकास, वातावरण संरक्षण जस्ता महत्वपूर्ण क्षेत्रमा योगदान दिन सक्षम बनाउँछ ।
१.सहरी योजनाकार
कुनै पनि क्षेत्र वा ठाउँमा कति वा कसरी बस्ती विकास गर्ने जस्ता योजना बनाउन वा सहरी विकासको मोडल डिजाइन गर्न रूचि भएमा सहरी योजनाकार रोजगारीको सही छनोट हुनसक्छ । यसमा जमिनको प्रयोग, वातावरणीय प्रभाव र वरपरका समुदायको आवश्यकतालाई ध्यानमा राखेर सहरी क्षेत्रहरूको डिजाइन, योजना तथा विकास गर्नुपर्छ । साथै दिगो पूर्वाधार निर्माण गर्न वास्तुकार, इञ्जिनियर र सरकारी निकायहरूसँग पनि सहकार्य गर्नुपर्छ । यस क्षेत्रमा सफल हुन भौगोलिक सूचना प्रणाली (जीआईएस)मा दक्षता, विश्लेषणात्मक क्षमता, सञ्चार तथा सहकार्य गर्ने शीप आवश्यक हुन्छ ।
२. नक्साकार (कार्टोग्राफर)
नक्साकारले भौगोलिक तथ्यांकलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्छ । त्यसैले यो क्षेत्रमा काम गर्ने मानिसमा कला, विज्ञान र प्रविधि तीनवटै विषयमा राम्रो ज्ञान हुन आवश्यक छ । नक्साकारले भौगोलिक सिमाना, जनसंख्या वितरण, यातायात तथा सहरी योजना जस्ता उद्देश्यका लागि आवश्यक जानकारी प्रस्टसँग देखाउने आकर्षक नक्साहरू डिजाइन गर्नुपर्छ । यसका साथै पुराना नक्साहरूलाई नयाँ तथ्यांक सहित प्रस्तुत गर्ने, त्यसको डिजिटल तथा अन्तरक्रियात्मक संस्करणको विकास गर्नुपर्छ । साथै नक्साकारमा एडोब इलस्ट्रेटर, क्युजिआईएस र अटोक्याड जस्ता सफ्टवेयरहरूको पनि ज्ञान हुनुपछ्र्र ।
३. पर्यावरण सल्लाहकार
पर्यावरण सल्लाहकार भूगोल विषयमा स्नातक गरेका विद्यार्थीका लागि रोजगारीको अर्को अवसर हुनसक्छ । उनीहरूको मुख्य काम मानव क्रियाकलापको प्रभाव विश्लेषण गर्ने, पर्यावरणीय मूल्यांकन गर्ने र स्रोत व्यवस्थापनका लागि आवश्यक रणनीतिहरू विकास गर्नु हो । साथै व्यवसायिक क्षेत्रमा बढ्दो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै उनीहरूले विभिन्न संगठनलाई वातावरणीय नियम र दिगोपन सम्बन्धी सुझाव पनि दिन सक्छन् । यस क्षेत्रमा अब्बल हुन पर्यावरण सम्बन्धि कानुन, दिगोपन अभ्यासमा पर्याप्त ज्ञान हुनुका साथै अनुसन्धान तथा विश्लेषण गर्ने क्षमता हुनुपर्छ ।
४.जलवायुविज्ञ (क्लाइमेटोलोजिस्ट)
भूगोल विषय पढ्दा आर्जन गरेको प्राकृतिक विज्ञानको ज्ञान उपयोग गर्न सकेमा जलवायुविज्ञ बन्न सकिन्छ । यसमा जलवायु तथा मौसम परिवर्तनबारे व्याख्या, विश्लेषणका साथै मौसम पूर्वानुमान लगायत कार्य गर्नुपर्छ । यसरी नै जलवायु परिवर्तनबारे प्रतिवेदन तयार गर्ने, जलवायु सम्बन्धी घटना तथा तिनले वातावरण र प्राणीमाथि पार्न सक्ने प्रभावहरूमा निरन्तर अनुसन्धान गर्ने लगायत काम जलवायुविज्ञको उत्तरदायित्व भित्र पर्छ । यस क्षेत्रमा सफलता हासिल गर्न विभिन्न विषयमा अध्ययन अनुसन्धान तथा सांख्यिकीय व्याख्या, विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्छ ।
५. पर्यावरण संरक्षण अधिकृत
विभिन्न प्रकारका लोपोन्मुख वनस्पति तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्ने, वातावरणीय नियम तथा कानुन कार्यान्वयन गर्ने, सर्वसाधारण तथा नीति निर्माताहरूलाई प्रकृति संरक्षणबारे शिक्षित गराउने काम पर्यावरण संरक्षण अधिकृतको हुन्छ । साथै अवैध गतिविधिहरूमा रोक लगाउने, कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने काम पनि अधिकृतको क्षेत्राधिकार भित्र पर्छ ।
पर्यावरण संरक्षणमा काम गर्ने अधिकारीहरुले गैरसरकारी संस्था, विद्यालय, स्थानीय समुदाय लगायतसँग सहकार्य गरी पर्यावरण संरक्षणबारे जनचेतना फैलाउँछन् । यसका लागि वातावरण तथा वन संरक्षण सम्बन्धी नियम तथा कानुनबारे ज्ञान हुनुपर्छ ।
(एजेन्सीको सहयोगमा)