काठमाडौं, २९ कार्तिक । नागढुंगादेखि सिस्नेखोला सडक खण्ड आजदेखि मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने जनाएको छ ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जारी गरेको सूचनामा उललेख छ ।
सो समयावधिमा सवारीसाधन दुईतर्फी रूपमै २० मिनेट बन्द र २० मिनेट खुला रहने छ । २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।
सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र सम्भव भए वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, ‘यस दौरान रोकिने सवारी साधनहरूले सवारी रोक्दा र सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नु हुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन अनुरोध छ । अन्यथा प्रचलित नियमानुसार कडा कारबाही हुनेछ ।’