काठ्माडौं, ३० कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा संघीय सरकारले राजनीति गरेको आरोप लगाएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापनमा आफूहरुले सम्बन्धित कम्पनी र छिमेकी नगरपालिकाको असहयोगका साथै संघीय सरकारको हस्तक्षेप पनि भोग्नु परिरहेको बताएका छन् ।
उनले भनेका छन्, काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।
यस्तै उनले आफूहरुले कानुन बनाएर फोहोर व्यवस्थापनको विषयमा केही वडाबाट पाइलट प्रोजेक्ट सुरु गरेर फोहोर वर्गिकरण गर्दै काम गरेर सहि र दिगो समाधानका लागि वैधानिक मापदण्डअनुसार टेन्डर आह्वान गरेको बताउँदै उनले नेपवेस्ट नामक कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको बताएका छन् । मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएकोसमेत उनले बताएका छन् ।
विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन् ।
तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ, ’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनः जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।’
मेयर बालेनले काठमाडौंको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौंबासीको अधिकारको कुरा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो ।’ आपूmहरु समस्या समाधानको बाटोमै रहेकाले अबरोध अझै आउन सक्छने उल्लेख गर्दै उनले फोहोर व्यवस्थापनमा कुनैपनि सम्झौता नगरी अगाडी बदने बताएका छन् ।