काठमाडौं, ३ मंसिर । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् ।
दरखास्त दिँदा कम्तिमा ३ हजारदेखि बढीमा ५ हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना पनि माग गरिएको छ । आवेदकले पेस गरेको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा नियुक्तिको लागि सिफारिस गर्ने तालिका छ । स्वीकृत कार्यविधि अनुसार दरखास्त साथ उम्मेदवारले स्वःघोषणा समेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।