काठमडाौं, ३ मंसिर । पछिल्लो समय विदेशी लगानीकर्ताको आकर्षण नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा करिब २० अर्ब लगानी प्रतिबद्धता आएकोमा त्यसको आधाभन्दा बढी पर्यटन क्षेत्रमा छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार नेपालमा कार्तिकसम्ममा स्वचालित प्रणाली (अटोमेटिक रुट), स्वीकृति र शेयर खरिदलगायतमा १९ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जसमध्ये पर्यटन क्षेत्रमा मात्रै ६६ प्रतिशत रहेको छ ।
अटोमेटिक रुट बाहेक चार महिनामा पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताले ११३ परियोजनाका लागि ११ अर्ब १८ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । यो गत आवको कार्तिकसम्मको तुलनामा पनि १० प्रतिशत विन्दुले बढी हो । गत आवको सोही अवधिमा आएको अगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ५६ प्रतिशत मात्र थियो ।
चालू आवको चार महिनामा सेवा क्षेत्रका २० वटा परियोजनालाई ३ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । त्यस्तै उत्पादन क्षेत्रका १३ वटा परियोजनाको लागि १ अर्ब २२ करोड रुपैयाँ, सूचना प्रविधितर्फ ७ वटा एफडिआईलाई १ करोड ७४ लाख, कृषि (एग्रो)तर्फ २ वटा एफडिआईलाई ५८ करोड र २ वटा खनिज क्षेत्रतर्फका परियोजनालाई ४ करोड लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार चालू आवको कार्तिकसम्ममा प्रतिबद्धता आएका कुल लगानीमध्ये अटोमेटिक रुटबाट मात्रै चार महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ बराबरको छ । सो अवधिमा अटोमेटिक रुटमार्फट सूचना प्रविधितर्फ सबैभन्दा धेरै ४३ करोड २२ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।
त्यस्तै पर्यटन क्षेत्रमा ४२ करोड ९० हजार, सेवामुलक क्षेत्रमा ३८ करोड उत्पादनमुलक क्षेत्रमा ३५ करोड र पूर्वाधार क्षेत्रमा ४ करोड रुपैयाँ अटोमेटिक रुटबाट लगानी प्रतिबद्धता आएको छ ।
चालू आवको चार महिनामा आएको लगानी प्रतिबद्धताअनुसार उद्योग स्थापना भए ७ हजार ६ सय ६७ जनाले रोजगारी पाउने अनुमान छ ।
साना उद्योगमा लगानीकर्ताको आकर्षण
विदेशी लगानीकर्ताहरु सबैभन्दा बढी साना उद्योगमा आकर्षित देखिएका छन् । विभागका अनुसार कार्तिकसम्ममा १५१ साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । त्यस्तै एउटा मझौला प्रकारका उद्योगका लागि र २ ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको ।
भिसा लिएर वैदेशिक भ्रमणमा जाने बढे
चालू आवको चार महिनामा १ हजार २० जना जनाले बिजनेस भिसा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो भिसा १ हजार ५ जनाले भिसा लिएर वैदेशिक भ्रमणमा गएका छन् । त्यस्तै चालू आवको कार्तिकसम्ममा लगानीकर्ताको प्रतिनिधिमार्फत भिसा लिनेको सङ्ख्या २०५ जना पुगेको छ । गत आवको यसै अवधिमा यस्तो भिसा लिने सङ्ख्या ११७ थियो ।
गत आवको कार्तिकसम्ममा डिपेन्डेन्टतर्फ २७९ जनाले भिसा लिएकोमा यस वर्षको सोही अवधिमा डिपेन्डेन्टमार्फत ३३२ जनाले भिसा लिएर वैदेशिक भ्रमणमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।