काठमाडौं, ५ मंसिर । पछिल्लो भदौ यता लगातार घटिरहेको घरजग्गा कारोबार कार्तिकमा पनि अपेक्षित सुधार देखिएन । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा ३३ हजार ५ सय १४ वटा घरजग्गा लिखत पारित भएको छ, जुन साउनको तुलनामा २३ दशमलव ०१ प्रतिशतले कम हो । साउनमा ४३ हजार ५३५ वटा घरजग्गाको कारोबार भएको थियो ।
विभागका अनुसार कार्तिकमा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा सबैभन्दा बढी १२ सय ४६ वटा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै मालपोत कार्यालय मोरङमा ११ सय १२, भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा एक हजार २४, मालपोत कार्यालय सप्तरीमा एक हजार २२ र मालपोत कार्यालय झापामा ९९८ वटा घरजग्गा कारोबार भएका छन् ।
साउनको तुलनामा भदौमा घरजग्गा कारोबार २५ प्रतिशतले घट्यो । विभागका अनुसार देशभर ३२ हजार ७९८ घर जग्गाको लिखत पारित भएको थियो ।
असोजमा समेत यस कारोबारले निरन्तरता पायो । असोजमा भदौको तुलनामा घरजग्गा कारोबार ६.९२ प्रतिशतले घटेर ३० हजार ५२७ वटा मात्रै लिखत पारित भयो, अर्थात् दुई महिनाको अवधिमै कारोबार २९ दशमलव ८७ प्रतिशतले घटेको थियो ।
चालू आवको सुरुवातको महिनादेखि नै घरजग्गा कारोबारबाट हुने आम्दानी घट्दोक्रममा छ ।
विभागका अनुसार चालू आवको कार्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ, जुन साउनको तुलनामा २९.४९ प्रतिशतले कम हो । गत साउनमा सरकारलाई यसबाट ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ आम्दानी प्राप्त भएको थियो ।
त्यसयता कारोबारमा आएको ह्राससँगै आम्दानीमा समेत प्रभाव परेको छ । भदौमा साउनको तुलनामा घरजग्गा कारोबारबाट प्राप्त हुने आम्दानी १९.४२ प्रतिशतले घटेको थियो । सो अवधिमा राजस्व संकलन ३ अर्ब ९ रकोड २ लाख रुपैयाँमा सीमित भयो ।
त्यस्तै असोजमा घरजग्गा कारोबारको राजस्व संकलन ०.२९ प्रतिशतले घटेर ३ अर्ब ८ करोड १२ लाखमा झरेको थियो ।
विभागका अनुसार कार्तिकमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले सबैभन्दा बढी २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ ।
त्यस्तै मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, भूमिसुधार तथा मालपोत कार्यालय भरतपुरले १७ करोड ६९ लाख २३ हजार ६४५, मालपोत कार्यालय कलंकीले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन् । देशभर एक सय ३३ वटा मालपोत कार्यालय छन् । हाल सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।