काठमाडौं, ६ मंसिर । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पुनः आवेदन मागेको छ । यसअघि आवेदन परेका सबै जना अयोग्य भएपछि कम्पनीले बिहीबार फेरि दरखास्त आह्वान गरेको हो ।
कम्पनीले असोज १६ गते सीईओका लागि आवेदन खुलाएको थियो । सीईओ बन्नका लागि ४ जनाले आवेदन दिएका थिए । सीईओ बन्नका लागि महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका थिए । कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसक्दा उनीहरू ‘फेल’ भएका थिए ।
यसअघिका उम्मेदवार सबै ‘फेल’ भएपछि कम्पनीले बिहीबार एक सूचना जारी गर्दै रिक्त रहेको सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन भनेको छ । उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना चार प्रति आवेदकले खुलाउनु पर्नेछ ।