काठमाडौं, ९ मंसिर । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयीसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएर उनको सम्पती बढेको हो ।
टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको फोर्ब्सले उल्लेख गरेको छ ।
मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो । विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ ।
गत नोभेम्बर ५ मा भएको राष्ट्रपति निर्वाचनमा मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा उल्लेख्य आर्थिक सहयोग गरेका थिए । ट्रम्प राष्ट्रपतिमा विजयी भएपछि उनले मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन् । ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ ।