काठमाडौं, २६ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ७ दशमलव ५५ प्रतिशत बढेको हो । चालू आवको कात्तिकसम्ममा बैंकको खुद नाफा रू. २२ अर्ब २९ करोड रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले रू. २० अर्ब ७३ करोड खुद नाफा आर्जन गरेका थिए ।
चालू आवको पहिलो चार महिनामा धेरै खुद नाफा गर्ने नबिल बैंक रहेको छ । बैंकले २ अर्ब ६९ करोड खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा २४ दशमलव ०६ प्रतिशत बढी हो । यस बैंकले गत वर्षको कात्तिकसम्ममा रू. २ अर्ब १६ करोड खुद नाफा गरेको थियो ।
दोस्रो धेरै खुद नाफा गर्ने ग्लोबल आईएमई बैंक रहेको छ । चालू आवको पहिलो चार महिनामा यस बैंकले रू. २ अर्ब ११ करोड खुद नाफा गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ दशमल ७८ प्रतिशत बढी हो । यस बैंकले गत आवको पहिलो चार महिनामा रू. १ अर्ब ९४ करोड खुद नाफा गरेको थियो ।
यस्तै चालू आवको पहिलो चार महिनामा तेस्रो धेरै खुद नाफा गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले रू. १ अर्ब ८२ करोड खुद नाफा गरेको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने बैंकको नाफा २ दशमलव ४६ प्रतिशतले घटेको छ । गत आवको पहिलो चार महिनामा यस बैंकले रू. १ अर्ब ८६ करोड कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकपछि धेरै खुद नाफा गर्ने प्राइम कमर्सियल बैंक रहेको छ । यस बैंकले चालू आवको कात्तिकसम्ममा रू. १ अर्ब ६२ करोड खुद नाफा गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ६३ प्रतिशत बढी हो । गत वर्षको कात्तिकसम्ममा यस बैंकको खुद नाफा रू. १ अर्ब ५३ करोड थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार पाँचौ धेरै खुद नाफा गर्ने कुमारी बैंक रहेको छ । यस बैंकले चालू आवको पहिलो चार महिनामा रू. १ अर्ब ५९ करोड खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ७९ दशमलव ०५ प्रतिशत धेरै हो । गत आवको पहिलो चार महिनामा बैंकको यस्तो नाफा रू. ८८ करोड थियो । यसपछि खुद नाफा धेरै गर्ने बैंक एभरेष्ट, नेपाल मर्चेन्ट, प्रभुलगायतका बैंक रहेका छन् ।
वाणिज्य बैंकहरुको खुद नाफा
रू. दश लाखमा
स्रोत : नेपाल राष्ट्र बैंक