काठमाडौं, १६ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ मा राजस्व संकलन बढेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आव २०८०/८१ को पहिलो साढे पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन ३ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको हो ।
आवको साढे पाँच महिनासम्ममा रू. ४ खर्ब ३१ अर्ब ४९ करोड राजस्व उठाएको छ, जुन वार्षिक लक्ष्यको ३० दशमलव ४ प्रतिशत मात्रै हो । सो अवधिमा रू. ३८ अर्ब ३७ कारेड गैर–राजस्व कर हो भने रू. ३ खर्ब ९३ अर्ब १२ करोड राजस्व कर हो । चालू आवमा रू. १४ खर्ब १९ अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य रहेको छ । गत आवको पुस १५ गतेसम्ममा रू. ३ खर्ब ८९ अर्ब ३८ करोड राजस्व उठाएको थियो ।
सरकारले चालू आवमा रू. ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा साढे पाँच महिनामा रू. ८ लाख मात्रै प्राप्त भएको तथ्याङ्क छ । सो अवधिमा अन्य प्राप्ति रू. ७ अर्ब ६३ करोड ६ लाख संकलन भएको छ ।
साढे पाँच महिनामा पुँजीगत खर्च रू. ४७ अर्ब ३७ करोड ३४ लाख भएको छ, जुन वार्षिक बजेट विनियोजनको १३ दशमलव ४४ प्रतिशत हो । सरकारले चालू आवमा पुँजीगत खर्चतर्फ रू. ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजनको गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो खर्च रू. ४१ अर्ब ६८ करोड १३ लाख भएको थियो । सो आवमा पुँजीगत खर्चतर्फ रू. ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख विनियोजन गरेको थियो ।
पुस १५ सम्ममा चालू खर्च रू. ३ खर्ब ९१ अर्ब २० करोड भएको छ । यस अवधिमा वित्तीय व्यवस्थापनमा रू. १ खर्ब ५५ अर्ब ६९ करोड खर्च भएको छ ।