काठमाडौं, १७ पुस । कर्णाली प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको उद्योगहरूको क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रहेको छ । गत वर्ष यस्तो क्षमता ५२ दशमलव २० प्रतिशत थियो ।
समीक्षा वर्षमा प्लाष्टिकका सामानसम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने सबैभन्दा कम अन्न तथा पशुदाना अन्तर्गत पिठो उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता १५ दशमलव ० प्रतिशत छ । यसपछि कागज उत्पादन ४८ दशमलव ९४ प्रतिशत, काठ तथा काठको सामान ४१ दशमलव ६७ उपयोग क्षमता छ ।
कर्णाली प्रदेशमा उद्योगको दर्ता स्थिति
कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत उद्योग क्षेत्रको योगदान
आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ९ दशमलव ७० प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिदर ९ दशमलव ६४ प्रतिशत छ । त्यस्तै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १ दशमलव ०२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ३०९ ठुला उद्योगहरू दर्ता भएको थियो । रुरुगाड पावर कम्पनी प्रालि, सुर्य तारा सिमेन्ट उद्योग प्रालि, रारा होल्डिङ्ग प्रालि र स्यार्पु पावर कम्पनी लि गरी ४ ठुला उद्योगहरू दर्ता छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार शुरुदेखि आर्थिक वर्ष २०७९/८० सम्म यस प्रदेशमा ३६,५१६ वटा लघु, घरेलु तथा साना उद्योगहरू छन्, जसमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लामा १०,१३३ वटा छ भने सबैभन्दा कम मुगु जिल्लामा १,७३१ रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा १,७६८ उद्योग दर्ता भएको तथ्याङ्क छ ।
उद्योगको क्षमता उपयोगको अवस्था
बढ्यो क्षेत्रगत औद्योगिक कर्जा
समीक्षा वर्षमा यस प्रदेशको कुल औद्योगिक कर्जा रू.४ अर्ब ११ करोड ८७ लाख रहेको छ । यो आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा ३ दशमलव ३३ प्रतिशत बढी हो । सो वर्ष कुल औद्योगिक कर्जा रू. ३ अर्ब ९८ करोड ६१ लाख थियो ।
समीक्षा वर्षमा विद्युत्, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा सबैभन्दा बढी ७ दशमलव ८५ प्रतिशतले कमी आएको छ ।
समीक्षा वर्षमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै रू. २ अर्ब ६० करोड ३ लाख औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम रू. १ करोड ६५ लाख डोल्पा जिल्लामा उपयोग भएको छ ।
जिल्लागत औद्योगिक कर्जा