काठमाडौं, १८ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या घटेको छ ।
अर्थ मंन्त्रालयको तथ्याङ्क अनुसार गत आवको कात्तिक मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा यस्तो प्यान लिनेको संख्या ४ दशमलव २९ प्रतिशत घटेको हो । गत कात्तिकसम्ममा प्यान लिनेको संख्या दुई लाख ३२ हजार ८६६ रहेको छ । गत वर्षको यसै अवधिमा दुई लाख ४३ हजार ३२० जनाले लिएका थिए । यद्यपि सुरुदेखि चालू आवको कात्तिकसम्ममा ६४ लाख ५८ हजार ९९९ प्यान जारी भएको छ ।
सो अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ९५ हजार ७०७ पुगेको छ, यो गत आवको कात्तिकसम्मको तुलनामा १ दशमलव ८३ प्रतिशत कमी हो । गत आवको सो अवधिमा यस्तो प्यान लिनेको संख्या १ लाख ९९ हजार ३६१ थियो ।
त्यस्तै पछिल्लो एक वर्षको अवधिमा व्यावसायिक प्यान लिनेको संख्या पनि घटेको छ । गत आवको पहिलो चार महिनामा ४१ हजार ८३३ ले व्यावसायिक प्यान लिएका थिए भने चालू आवको सो अवधिमा ३६ हजार २८४ ले लिएका छन् । यसैगरी गत कात्तिकसम्ममा करकट्टी गर्ने निकायले लिएको कुल प्यान ३४ हजार २०३ पुगेको छ ।
यस्तै पछिल्लो एक वर्षमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत प्यान लिनेको संख्या पनि घटेको छ । २०८० को कात्तिकम्ममा मूल्य अभिवृद्धि करतर्फ ९ हजार ८८५ र अन्तःशुल्कतर्फ ४ हजार ६४१ प्यान जारी भएको थियो भने २०८१ को यसै अवधिमा यस्तो करदाताको संख्या क्रमशः ८ हजार ८२ र ३ हजार ८३३ रहेको छ ।