काठमाडौं, २९ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ८ दशमलव ३२ प्रतिशत बढेको हो । गत मंसिरसम्ममा बैंकको खुद नाफा रू. ३० अर्ब ५९ करोड रहेको छ । गत वर्षको यसै अवधिमा रू. २८ अर्ब २४ करोड खुद नाफा आर्जन गरेका थिए ।
आवको पाँच महिनामा धेरै खुद नाफा गर्ने नबिल बैंक रहेको छ । बैंकले ३ अर्ब ४९ करोड खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा १७ दशमलव ७८ प्रतिशत बढी हो । यस बैंकले गत वर्षको मंसिरसम्ममा रू. २ अर्ब ९६ करोड खुद नाफा गरेको थियो ।
दोस्रो धेरै खुद नाफा गर्ने ग्लोबल आईएमई बैंक रहेको छ । चालू आवको पहिलो पाँच महिनामा यस बैंकले रू. २ अर्ब ८३ करोड खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा रू. २ अर्ब ७३ करोड खुद नाफा गरेको थियो ।
सो अवधिमा तेस्रो धेरै खुद नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले पाँच महिनामा रू. २ अर्ब ४९ करोड खुद नाफा गरेको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने बैंकको नाफा ४ दशमलव ५२ प्रतिशतले घटेको छ । गत आवको पहिलो पाँच महिनामा यस बैंकले रू. २ अर्ब ६० करोड कमाएको थियो । यसपछि चौथो धेरै खुद नाफा गर्ने बैंकमा कुमारी बैंकले रू. १ अर्ब ९९ करोड र पाँचौंमा प्राइम कमर्सियल बैंकले रू. १ अर्ब ९६ करोड खुद नाफा आर्जन गरेका छन् ।
गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा कम गर्ने बैंक ६ वटा रहेका छन्, जसमध्ये धेरै कम खुद नाफा गर्ने एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले चालू आवको पहिलो पाँच महिनामा ६३ करोड खुद नाफा गरेको छ, जुन गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा ६५ दशमलव ७६ प्रतिशत कम हो । गत आवको मंसिरसम्ममा यस बैंकले १ अर्ब ८५ करोड खुद नाफा गरेको थियो । यस्तै गत वर्षको मंसिर महिनासम्मको तुलनामा चालू आवको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक र सानिमा बैंकको पनि खुद नाफा घटेको छ ।
वाणिज्य बैंकहरुको खुद नाफा (रू. दश लाखमा)
स्रोत : नेपाल राष्ट्र बैंक