सुनिता सुवेदी,
काठमाडौं, १८ माघ । नेपालमा मध्य हिउँद चल्दैछ । हिउँदयाम देशमा धेरै आगलागी हुने समय पनि हो, जुन कतिपय ठाउँमा शुरू हुन थालिसकेको छ । माघ ८ गते काभ्रेको खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा डढेलो लाग्यो । त्यसको एक सातापछि मात्र सोमबार आगो नियन्त्रणमा आयो । यसबाट कति क्षति भयो त्यो विवरण आइसकेको छैन । त्यस्तै पछिल्लो साता सोलुखुम्बु र भोजपुरमा पनि डढेलो लाग्यो । भोजपुर नगरपालिका ३ को भालुखोप सामुदायिक वनमा लागेको आगो र सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ४ को सुर्केस्थित एक निजी जंगलमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।
१६ माघमा डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भयो । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भएको थियो ।
आगलागीका उल्लिखित घटना प्रतिनिधि उदाहरण मात्र हुन्, तथ्यांकमा नआएका धेरै ठाउँमा अहिले नै पनि आगलागी भइरहेको हुन सक्छ, किनकि यो याममा आगलागी हुनु सामान्य जस्तो भइसकेको छ । यद्यपि यसले पु¥याउने क्षति भने धेरै ठूलो हुने गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माघ शुरू भएयता हालसम्म काभ्रे, चितवन, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुर, बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् ।
हिउँदयाम सुरु भएदेखि नै आगलागीका घटना उल्लेख्य बढ्न थालेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार यस वर्षको मंसिर १ गतेदेखि माघ १८ गते बिहानसम्म ९०९ वटा आगलागी तथा डढेलोका घटना भएका छन् । उक्त घटनाबाट २२ जनाको मृत्यु भएको छ । १५२ जना घाइते भएका छन् । सो अवधिमा १४० वटा पूर्वाधारको क्षति भएको छ भने ४११ पशुचौपायको क्षति भएको छ । साढे दुई महिनामा ३३ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
माघयता मात्रै आगलागी तथा डढेलोका २२८ वटा घटना भएका छन् । १८ दिनको अवधिमा आगलागीबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८ जना घाइते भएका छन् । सो अवधिमा २९ वटा पूर्वाधारको क्षति हुँदा १९२ पशुचौपाया नष्ट भएका छन् । १ माघदेखि शुक्रवार बिहानसम्म ८ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण अन्तर्गतको विपद् पोर्टलको विवरण अनुसार शुक्रवार गोरखा, सर्लाही र सप्तरीमा आगलागीका घटना भएका छन् । विष्णुनुपुर–६ सप्तरीमा आगलागी हुँदा ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने हरिपुर–३ सर्लाहीमा एउटा पूर्वाधारमा पूर्ण रुपमा क्षति भएको छ ।
प्राधिकरण अन्तर्गत (वन डढेलो, आगलागी तथा वातावरण शाखा)का उपसचिव सुदिप छत्कुलीले वन व्यवस्थापन कमजोर हुनु, मानवीय लापरबाही तथा जनचेतनाको कमीले आगलागी तथा डढेलोका घटना बढिरहेको बताए । उनले भने, ‘अहिले जनतामाझ सचेतना त पुगेको छ, तर सचेतना मात्र पुगेर भएन, त्यसको आचरणमा उहाँहरूले ल्याउन सक्नुभएन । जसले डढेलो लगाइरहेको छ, त्यो उहाँहरूलाई पनि डढेलो लगाउनुहुँदैन भन्ने थाहा छ, तर पनि लगाइरहनुभएको छ । सचेतना बढ्न सकेन ।’
उनका अनुसार ४५ प्रतिशत आगलागी मानवीय लापरबाहीबाटै हुने गरेको छ । ‘गोठालो जानेले ३० प्रतिशत र धूमपान गर्नेले १५ प्रतिशत आगो लाग्छ । वन अतिक्रमण र हार्भेस्टिङका कारणले ५÷५ प्रतिशत हुन्छ ।’ जानी–जानी ६४ प्रतिशत र लापरबाहीका कारणले ३२ प्रतिशत आगलागी हुने गरेको उनले बताए ।
पछिल्लो समय मानिसको वनप्रतिको अपनत्व नै घट्दै गएको छत्कुली बताउँछन् । ‘जनता र वन क्षेत्र जोडिनुपर्छ, पहिले घर बनाउँदा काठको प्रयोग गथ्र्यांै । त्यसलाई सिमेन्ट, आल्मुमिनियमले प्रतिस्थापन गरेको छ । पहिले वनमा पत्कर, घाँस, दाउरा, स्याउला लिन जान्थ्यौं, पशुपालन कमी हँुदै जाँदा वनमा जानुपर्दैन । दिन प्रतिदिन मानिस र वनको अन्तरसम्बन्ध घट्दै गएको छ । त्यसले उहाँहरूमा अपनत्व कमी भएको हो कि भन्ने लाग्छ,’ उनले भने ।
पछिल्ला वर्षमा लगातार यस्ता घटना बढिरहेको तथ्याङ्कले समेत देखाउँछ । २०८० वैशाख १ देखि चैत मसान्तसम्म आगलागीका ४ हजार ४६ वटा घटना भएका थिए । प्राधिकरणका अनुसार १ वर्ष अवधिमा ४ हजार ४६ आगलागीका घटनामा १०८ जनाको मृत्यु भएको थियो । ५०४ जना घाइते भएका थिए । घटनाबाट ५ हजार ११२ परिवार प्रभावित भएका थिए । एक वर्ष अवधिमा व्यक्तिका घर गोठमा आगलागी हुँदा ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । सो वर्ष अघिल्लो वर्षको तुलनामा आगलागीका घटना बढेको थियो । २०७९ मा ३ हजार २४ आगलागीका घटना भएका थिए । यसबाट १ सय ९ जनाको मृत्यु भएको थियो भने ३ सय ९५ घाइते भएका थिए । उक्त घटनाबाट ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । वर्ष २०७८ मा २ हजार ३७४ आगलागीका घटना हुँदा २ अर्बको क्षति भएको थियो ।
यस्तै २०८० साल वैशाखदेखि चैतसम्म ४९२ डढेलोका घटना भएका थिए, जसमा १६ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भए । सो वर्ष डढेलोबाट १३३ घरपरिवार प्रभावित हुँदा ३२ घर पूर्ण क्षति, २४ घरमा आंशिक क्षति भएको थियो । ५५ गोठमा क्षति हुँदा ६८ पशुचौपायाको क्षति भयो । डढेलोबाट गत वर्ष २ करोड ४० लाख ५८ हजार २ सय रुपैयाँको क्षति भएको थियो । यसको अघिल्लो वर्षमा १९० ओटा डढेलोका घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।
कुन वर्षमा कति भयो क्षति ?
स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
यस वर्षको हिउँदमा पानी पर्न नसक्दा छिट्टै सुख्खा हुने क्रम बढ्यो, जसले पुस–माघ देखि नै आगलागी तथा डढेलाका घटना बढ्न थालिसकेका छन् । यसले गत वर्षहरुमा जस्तै यस वर्ष पनि डढेलो भयावह हुने संकेत समेत दिइसकेको छ ।
वातावरण विज्ञ सुवास ज्ञवाली यस वर्षको पुस माघदेखि नै आगलागी तथा डढेलोका घटना बढ्न थालिसकेकाले गतवर्षहरुमा भन्दा यस वर्ष बढी सचेत हुनुपर्ने तथा पूर्वतयारी गर्नुपर्ने बताउँछन् । उनले भने, ‘गतवर्ष पनि धेरै जङ्गलमा ठूलो आगलागीका घटना भए । जङ्गलको आगो मानव बस्तीसम्म गएर धेरै जीउधनको क्षति भयो । अहिले पुस–माघबाट नै यस्ता घटना देखिन थालिसकेका छन्, जसकारण हामीले अलि बढी पूर्वतयारी गर्नुपर्छ । क्षमता निर्माण तथा हामीसँग भएका स्रोतसाधन, आगलागी नियन्त्रण गर्ने उपकरण रणनीति ठाँउमा राख्नुपर्छ ।’
आगलागी तथा डढेलोका घटना हुन नदिन समूदायमा जनचेतना फैलाउनुपर्ने र यस्ता घटना भइहाले नियन्त्रण गर्न तीनै तहका सरकार तथा यसका निकाय, सुरक्षा निकाय र वन रक्षकहरूबीच समन्वय गर्नुपर्ने उनको सुझाव छ ।
कस्तो छ पूर्वतयारी ?
सरकारले आगलागी तथा डढेलो नियन्त्रण गर्न विभिन्न प्रयास गर्दै आएको छ, तर सानो कुरामा सतर्कता नअपनाउँदा क्षण भरमै ठूलो जनधन क्षति हुने गरेको छ । सकेसम्म आगलागी हुन नदिनु नै उत्तम हो । यसमा सरकारी स्तरदेखि नागरिकसम्मको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगलागी हुनबाट जोगिन विभिन्न प्रयास गरिरहेको छ । आगलागी तथा डढेलोका घटना बढ्न थालेसँगै जनतासम्म जनचेतनाका लागि सूचना सम्प्रेषण गर्ने सम्पूर्ण स्रोत साधन प्रयोग गर्ने रणनीति नै बनाएर प्राधिकरण अघि बढिरहेको उपसचिव छत्कुलीले बताए ।
‘हामीले वनमा भएको इन्धनलाई फोकस गरिरहेका छौं । त्यसलाई वन व्यवस्थापनको मातहतबाट हटाउनुपर्छ भनेर वनमन्त्रालय मार्फत समन्वय गरिरहेका छौं,’ उनले भने, ‘हामीसँग भएका २४ हजार सामुदायिक वन तथा ८४ वटा डिभिजन वन कार्यालयलाई पुग्ने उपकरण नहोला । यद्यपि बजेटले भ्याएको जति अग्नि नियन्त्रणका सामग्री खरिद गरेर तयारी अवस्थामा राखिएको छ । समुदायिक वन उपभोक्तालाई सुरुक्षा संयन्त्र तथा वन रक्षकमार्फत तालिम पनि दिइरहेका छौं ।’
क्यालिफोर्नियामा लागेको डढेलोबाट के सिक्ने ?
प्राकृतिक प्रकोपले धनी र गरिब राष्ट्र भनेर छुट्याउँदैन, यो जुनसुकै बेला जहाँ पनि हुन सक्छ । अमेरिका जस्तो विकसित देशको क्यालिफोर्नियामा लागेको डढेलो समयमै नियन्त्रणमा ल्याउन नसक्दा कम्तीमा २९ जनाको ज्यान गएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जनवरी ७ देखि सुरु भएको डढेलो अहिलेम्म नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण लाखौं मानिस वायु प्रदूषणको जोखिममा परेका छन् भने अर्बौं डलरमा क्षति भएको प्रारम्भिक अनुमान छ । हालसम्म दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने १५ हजारभन्दा बढी संरचना ध्वस्त भएका छन् ।
प्रकोपको पूर्वतयारी र व्यवस्थापनमा अमेरिका तुलनात्मक रूपमा मजबुत छ । ऊसँग यस्ता घटना क्षणभरमै नियन्त्रणमा लिन सक्ने क्षमता छ, यद्यपि यस वर्ष खडेरीसँगै एक सय माइल प्रतिघण्टाको गतिमा आएको सान्टा आना नामक आँधीले गर्दा डढेलो नियन्त्रणबाहिर गयो । यसले भविष्यमा हुन सक्ने आगलागी तथा डढेलोको प्रकोपबाट कसरी जोगिने भन्ने बहसको ढोका खोलेको छ । यसबाट नेपालले समेत राम्रो पाठ सिक्न जरुरी छ । नेपालजस्तो बहुप्रकोपीय जोखिम भएको देशमा हिउँदयाम सुरु भएसँगै आगलागी तथा डढेलोका प्रकोपहरु शुरू भइसकेका छन् ।
वातावरण विज्ञ ज्ञवाली यसमा व्यक्ति स्वयम्ले सावधानी अपनाउनुपर्ने तथा पूर्वतयारी अवस्थामा वस्नुपर्ने बताउँछन् । उनले भने, ‘अन्य विपद्बाट बढी जनको क्षति हुन्छ, तर आगलागीबाट धनको हुन्छ । प्रत्येक वर्ष आगलागीबाट आर्थिक क्षति सबैभन्दा धेरै हुने गर्छ । आगलागीबाट जोगिने भन्दा पनि यसको क्षति न्यूनीकरण गर्न हामीसँग भएका डकुमेन्ट, खाद्यान्न, पैसा सुरक्षित रुपमा राख्ने प्रयास गर्नुपर्छ ।’
नेपालमा पनि आगामी दिनमा क्यालिफोर्नियामा जस्तै हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘गत वर्षमा भएका आगलागीले पनि त्यो छनक दिएको छ । यस वर्ष पुस माघबाटै सुरु भयो । हिउँदे वर्षा भएको छैन । यो वर्ष अली बढी संवेदनशील हुनुपर्छ ।’