काठमाडौं, २८ फागुन । १० निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् । ठेक्का सम्झौताअनुसार कार्य नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
कालोसूचीमा राखिएका निर्माण तथा आपूर्ति कम्पनीहरूमा तारालक्ष्मी निर्माण सेवा, ममता मञ्जु कन्स्ट्रक्सन प्रालि, सनम निर्माण सेवा, निर्जरा निर्माण सेवा, इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि र जिएस निर्माण संसार कम्पनी प्रालि छन् ।
तारालक्ष्मी निर्माण सेवा गुल्मी र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् भने अन्य कम्पनीहरु एक वर्ष कालोसूचीमा परेका छन् ।
जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । एकदेखि एक वर्ष ६ महिनासम्म कालोसूचीमा राखिएका यी निर्माण तथा आपूर्ति कम्पनी यो अवधिमा कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सामेल हुन पाउने छैनन् ।