काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर बिदा भएसँगै हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ ।
गभर्नर चयनको लागि सरकारले समिति गठन गरको छ, तर हालसम्म गभर्नरका लागि नाम सिफारिस भएको छैन ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।