काठमडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।
मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्न लागेको यो दोस्रो पटक हो । मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि प्रधानमन्त्री रहेका ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए ।
प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।