काठमाडौं, २७ चैत । सान्भि इनर्जी लिमिटेडले २०८२ बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत बराबरको ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।
सो शेयर खरिदका लागि ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बर सम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरुका स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा रहेर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले उक्त आईपीओमा छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख १९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।