काठमाडौं, २७ चैत । चालू आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । यस्तो रेमिट्यान्स गत आवको सोही आवधिमा १८.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
चालू आवको आठ महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख १७ हजार ६८ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो ।