काठमाडौं, ३१ चैत । ट्रेड टावर लिमिटेडले २०८२ बैशाख ८ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन गर्नेभएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये पहिलो चरणमा नेपाल सरकारको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।