काठमाडौं, ३ वैशाख । पछिल्लो समय नेपालमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । चालू आर्थिक वर्ष (आव) २०८१८२ को ९ महिनामा विभिन्न क्षेत्रका लागि विदेशी लगानीकर्ताले करिब ६० अर्बको लगानी प्रतिबद्धता जनाएका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको चैतसम्ममा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा ५९ अर्ब ९२ करोड ५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सो अवधिको तुलनामा ५३ दशमलव ०१ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा यस्तो प्रतिबद्धता ३९ अर्ब १५ करोड ९० लाख रुपैयाँ आएको थियो ।
चालू आवको चैतसम्ममा स्वचालित मार्ग (अटोमेटिक रूट) भन्दा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा अटोमेटिक रूटबाट २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख लगानी प्रतिबद्धता आएको छ । त्यस्तै अप्रुभल रूटबाट २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख र शेयर खरिदबाट ३२ उद्योगमा १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट विभागले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । यस सँगै अटोमेटिक रूटबाट आउने लगानी बढिरहेको छ ।
तथ्यांकअनुसार चैतमा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । गत आवको चैतमा यस्तो प्रतिबद्धता २२ उद्योगका लागि ४ अर्ब ६४ करोड ५४ लाख भित्रिएको थियो ।
चालू आवको ९ महिनामा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम (मझौला) र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।
सुरुदेखि चालू आवको चैतसम्ममा विदेशी लगानीकर्ताले ६ हजार ८७८ उद्योगका लागि ५ खर्ब ७७ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ४० हजार ५८२ जनाले रोजगारी पाउनेछन् ।
ह्वात्तै बढ्यो सेवा क्षेत्रमा लगानी
विभागका अनुसार ९ महिनाको अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । चैतसम्ममा आएको कुल लगानी प्रतिबद्धतामध्ये सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७ लाख प्राप्त भएको छ । यो क्षेत्रका ६३ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो । फागुन र चैतमा यस क्षेत्रमा उच्च लगानी आएको छ । चैतमा मात्रै सेवा क्षेत्रमा १२ अर्ब ५६ करोड ४० लाख लगानी प्रतिबद्धता आएको छ । त्यस्तै फागुनमा १६ अर्ब ६६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत माघसम्ममा यस्तो प्रतिबद्धता ५ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ मात्रै थियो । दुई महिना यता विदेशी लगानीकर्ताको आकर्षण सेवा क्षेत्रमा उच्च देखिएको छ ।
सेवा क्षेत्रतर्फ उच्च लगानी भित्रिदा पर्यटनमा भने खुम्चिएको छ । माघसम्म सबैभन्दा धेरै पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको थियो । सो अवधिमा यस क्षेत्रमा १७ अर्ब ३२ करोड ७५ लाख लगानी आइसकेको थियो, तर सेवा क्षेत्रमा लगानी एक्कासी बढ्दा पर्यटन क्षेत्रमा भने बढ्न सकेन । फागुनमा पर्यटन क्षेत्रमा ५८ करोड रुपैयाँ लगानी भित्रिएको थियो भने चैतमा ४८ करोड मात्रै आएको छ । चालू आवको चैतसम्ममा पर्यटन क्षेत्रमा १८ अर्ब ३८ करोड ७५ लाख वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
सो अवधिमा आईसीटी क्षेत्रमा १ अर्ब ११ करोड १६ लाख, उत्पादनमुलक क्षेत्रमा २ अर्ब ७४ करोड २० लाख, कुषि क्षेत्रमा ७६ करोड १० लाख, उर्जा क्षेत्रमा २ करोड ५५ लाख र पूर्वाधारमुलक क्षेत्रमा २ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अटोमेटिक रुट प्रणालीबाट आएको हो ।
बिजनेस भिसा लिने लगानीकर्ता बढे
पछिल्लो समय नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । विभागका अनुसार ९ महिनामा २ हजार ५५५ लगानीकर्ताले यस्तो भिसा लिएका छन् । गत आवको सोही अवधिमा १ हजार ७२० जनाले बिजनेस भिसा लिएका थिए । चालू आवको चैतमा मात्रै १४८ लगानीकर्ताले यस्तो भिसा लिएका छन् ।
त्यस्तै विदेशी लगाीकर्ताका प्रतिनिधिमार्फत २९७ जनाले बिजनेस भिसा लिएका छन् । गत आवको चैतसम्ममा यस्तो भिसा २५६ जनाले लिएका थिए । ९ महिनामा ७७७ जनाले डिपेन्डेन्ट भिसा लिएका छन् । गत आवको सोही अवधिमा यस्तो भिसा ७३३जनाले लिएका थिए ।
रोयल्टीबापत साढे १ अर्ब बाहिरियो
चालु आवको तेस्रा् त्रैमाससम्ममा वैदेशिक लगानीकर्ताले रोयल्टीमार्फत १ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबर फिर्ता लगेका छन् । गत आवको सोही अवधिमा १ अर्ब ७० करोड १९ लाख रुपैयाँ बराबरको रकम रोयल्टीबापत फिर्ता लगेका थिए । यो वर्षको चैतमा मात्रै ४६ करोड रुपैयाँ रोयल्टी बाहिरिएको विभागले जनाएको छ ।